Oct 02 2026 | २०८३, आश्विन १६ गते

बाढीपीडितलाई राहतको लागि 'हिसान केन्द्रीय राहत कोष' स्थापना गर्ने निर्णय

बाढीपीडितलाई राहतको लागि 'हिसान केन्द्रीय राहत कोष' स्थापना गर्ने निर्णय

  • 325
    SHARES

  • बाढीपीडितलाई राहतको लागि 'हिसान केन्द्रीय राहत कोष' स्थापना गर्ने निर्णय

    काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा सहयोगका लागि ‘हिसान केन्द्रीय राहत कोष’ स्थापना गर्ने निर्णय गरेको छ। रसुवा जिल्लाको तिब्बती सीमाक्षेत्रबाट सुरु भएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि हिसानले राहत तथा सहयोग अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

    हिसानले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै बाढीपहिरोबाट भएको मानवीय क्षति, आवास तथा खाद्यान्नको अभाव र विद्यालय, सडक, पुल, जलविद्युत् आयोजना तथा सञ्चारलगायतका महत्वपूर्ण पूर्वाधारमा पुगेको क्षतिप्रति दुःख व्यक्त गरेको छ।

    हिसानका अनुसार राहत कोषमार्फत सहयोग जुटाएर प्रभावित नागरिकलाई सहयोग उपलब्ध गराइनेछ। संकलित सहयोग प्रधानमन्त्री राहत कोषमार्फत वा प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा हस्तान्तरण गर्ने निर्णय गरिएको छ। राहत अभियानलाई प्रभावकारी बनाउन हिसानका प्रदेश, जिल्ला तथा पालिका तहका संरचनालाई सक्रिय रूपमा परिचालन गरिने भएको छ। साथै, सदस्य शैक्षिक संस्था तथा शुभेच्छुकहरूलाई मानवीय सहयोगका लागि अग्रसर हुन हिसानले आग्रह गरेको छ।

    हिसानले बाढी तथा पहिरोका कारण सम्पर्कविहीन, हराइरहेका तथा जोखिमपूर्ण स्थानमा फसेका नागरिकको खोजी तथा उद्धारलाई तीव्र बनाउन ड्रोन, डिजिटल म्यापिङ, सञ्चार प्रणालीलगायत आधुनिक प्रविधिको अधिकतम प्रयोग गर्न सरकारसँग माग गरेको छ। सम्भावित जोखिमयुक्त क्षेत्रमा प्रभावकारी पूर्वसूचना प्रणाली विकास गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ। यसैगरी, बाढीका कारण विद्यालयमा क्षति पुगेपछि पठनपाठन प्रभावित हुने बालबालिकाको शिक्षालाई निरन्तरता दिन हिसानसम्बद्ध विद्यालयहरू तयार रहेको जनाएको छ।

    विपद्को समयमा सरकार, निजी क्षेत्र, शैक्षिक क्षेत्र, सामाजिक संघसंस्था र आम नागरिकबीचको सहकार्य आवश्यक रहेको भन्दै हिसानले प्रभावित नागरिकको राहत, पुनःस्थापना र शिक्षाको निरन्तरताका लागि आफ्नो तर्फबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।

    हिसानका अध्यक्ष युवराज शर्मा र महासचिव रामहरि सिलवालद्वारा जारी विज्ञप्तिमा विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

    FB_IMG_1787820202832.jpg

    images
    बिहिवार, भाद्र ११ २०८३०२:४०:२३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार