आइतवार, भाद्र १४ २०८३
काठमाडौं । नेपाल शिक्षक महासङ्घले भोटेकोसी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग जुटाउने निर्णय गरेको छ ।
महासङ्घको २०८३ भदौ १३ गते बसेको अनलाइन बैठकले देशभरका बहालवाला शिक्षक–कर्मचारीबाट तह तथा श्रेणीअनुसार आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । शिक्षक–कर्मचारीबाट संकलन हुने रकम भदौ महिनाको तलबबाट कट्टा गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको महासङ्घले जनाएको छ ।
२०८३ भदौ १० गते तिब्बत क्षेत्रबाट प्रवेश गरी भोटेकोसी नदीमा आएको भयानक बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको महासङ्घले जनाएको छ । बाढीमा शिक्षक, कर्मचारी, विद्यार्थी लगायत नेपाली तथा विदेशी नागरिकको ज्यान गएको र अझै धेरै मानिस बेपत्ता रहेको विज्ञप्तिमा उल्लेख छ ।
महासङ्घले बाढीबाट ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै नदी तटीय क्षेत्रमा अझै बाढीको जोखिम रहेकाले सबैलाई सतर्क र सुरक्षित रहन आग्रह गरेको छ ।
बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका काम भइरहेको भन्दै महासङ्घले त्यसलाई थप व्यापक र तीव्र बनाउन नेपाल सरकारसँग आग्रह गरेको छ । साथै विपद्को अवस्थामा आवश्यक सहयोगका लागि महासङ्घ तयार रहेको जनाएको छ ।
महासङ्घले शिक्षक–कर्मचारीको तलबबाट कट्टा गरिएको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गराई त्यसको जानकारी शिक्षा तथा खेलकुद मन्त्रालयमार्फत महासङ्घको राष्ट्रिय समितिलाई गराउन सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।
महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा जारी विज्ञप्तिमार्फत उक्त निर्णय सार्वजनिक गरिएको हो ।

