बिहिवार, भाद्र १८ २०८३
काठमाडौं — राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले शैक्षिक सत्र २०८३/८४ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि विषय दर्ता आवेदन फाराम भर्ने सम्बन्धी सूचना जारी गरेको छ।
बोर्डका अनुसार माध्यमिक शिक्षा परीक्षा (SEE) मा न्यूनतम १.६ GPA प्राप्त गरेका विद्यार्थीले मात्र कक्षा ११ को विषय दर्ता आवेदन फाराम भर्न पाउनेछन्। विषय दर्ता आवेदन फारामको ढाँचा बोर्डको वेबसाइटमा उपलब्ध गराइनेछ। विद्यार्थीले विषय दर्ता आवेदन फारामसँगै प्रधानाध्यापकबाट प्रमाणित गरिएको SEE कक्षा १० को ग्रेडसिटको प्रतिलिपि अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ।
विषय दर्ता आवेदन फारामबापत प्रति विद्यार्थी ४ सय रुपैयाँ शुल्क तोकिएको छ। उक्त शुल्क २०८३ असोज ३० गतेसम्म विलम्ब शुल्कबिना बोर्डको सम्बन्धित कार्यालयको खातामा दाखिला गर्नुपर्नेछ।
तोकिएको समयभित्र शुल्क दाखिला गर्न नसक्ने विद्यार्थीले प्रति विद्यार्थी ८ सय रुपैयाँ विलम्ब शुल्कसहित २०८३ मंसिर १ गतेभित्र रकम दाखिला गर्नुपर्नेछ। विद्यालयहरूले भने विद्यार्थीको विषय दर्ता फाराम नछुट्ने गरी बैंक भौचर वा अनलाइन पेमेन्ट भौचर र विषय दर्ता आवेदन फाराम २०८३ मंसिर ७ गतेभित्र बोर्डको सम्बन्धित कार्यालयमा बुझाइसक्नुपर्नेछ।
बोर्डले कक्षा ११ मा अतिरिक्त विषय अध्ययन गर्न चाहने विद्यार्थीले आफूले अध्ययन गर्न चाहेको विषय विषय दर्ता फाराममै अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने जनाएको छ। विद्यार्थीले विषय दर्ता आवेदन फाराम स्वयं भर्नुपर्नेछ। त्यसपछि सम्बन्धित विद्यालयले विद्यार्थीको विवरण बोर्डको वेबसाइटमार्फत अनलाइन प्रविष्टि गर्नुपर्नेछ। बोर्डले अनलाइन प्रविष्टिका लागि २०८३ असोज ७ गतेदेखि मंसिर ६ गतेसम्म समय निर्धारण गरेको छ।
विद्यालयहरूले बोर्डको वेबसाइटमा रहेको ‘Subject Registration (Grade 11)’ मा गई विद्यार्थीको विवरण प्रविष्ट गर्नुपर्नेछ। अनलाइन प्रविष्टि गर्दा माग गरिएका सबै विवरण अनिवार्य रूपमा भर्नुपर्ने बोर्डले जनाएको छ। त्यसैगरी, कक्षा ११ अध्यापनका लागि नयाँ सम्बन्धन प्राप्त गरेका विद्यालयले विद्यार्थीको विषय दर्ता अनलाइन प्रविष्टिका लागि विद्यालय कोड प्राप्त गर्न बोर्डका सम्बन्धित कार्यालयमा सम्पर्क गर्नुपर्नेछ।
बोर्डले आफ्ना सबै कार्यालयलाई आ–आफ्नो कार्यक्षेत्रभित्रका विद्यालयलाई यसबारे जानकारी गराई तोकिएको समयभित्र विषय दर्ता प्रक्रिया पूरा गर्न सहजीकरण गर्नसमेत आग्रह गरेको छ।
