Oct 02 2026 | २०८३, आश्विन १६ गते

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा शैक्षिक संवाद

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा शैक्षिक संवाद

  • 269
    SHARES

  • राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा शैक्षिक संवाद

    काठमाडौं । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ लाई समयसापेक्ष, व्यवहारिक, जीवनोपयोगी तथा भविष्यउन्मुख बनाउने उद्देश्यले सातै प्रदेशका २८ जिल्लामा शैक्षिक संवाद सञ्चालन हुने भएको छ।

    भदौ २४ देखि ३० गतेसम्म शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक, विज्ञ तथा विभिन्न सरोकारवालासँग प्रत्यक्ष अन्तरक्रिया गरी राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सुझाव संकलन गरिने भएको हो।

    कार्यक्रमअन्तर्गत कोशी प्रदेशका मोरङ, धनकुटा र सङ्खुवासभा, मधेस प्रदेशका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा, बागमती प्रदेशका मकवानपुर, दोलखा र काठमाडौंमा संवाद गरिनेछ।

    त्यस्तै, गण्डकी प्रदेशका कास्की, तनहुँ र गोरखा, लुम्बिनी प्रदेशका रुपन्देही, दाङ, बाँके र प्युठान, कर्णाली प्रदेशका सुर्खेत, दैलेख र मुगु तथा सुदूरपश्चिम प्रदेशका कैलाली, डडेलधुरा, बैतडी र डोटीमा समेत शैक्षिक संवाद सञ्चालन हुनेछ।

    संवादमा शिक्षक शिक्षा तथा शिक्षक विकास, प्रारम्भिक बालविकास तथा शिक्षा, पाठ्यभार तथा सिकाइ समय, स्थानीय तथा रैथाने ज्ञान, आदिवासी तथा समुदायमा आधारित ज्ञान, मातृभाषा तथा बहुभाषिक शिक्षा, विशेष तथा समावेशी शिक्षा लगायतका विषयमा छलफल हुनेछ।

    त्यसैगरी विपद् व्यवस्थापन तथा जलवायु शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा (TVET), जीवनोपयोगी सीप, डिजिटल सिकाइ, ICT तथा AI शिक्षा, विद्यार्थी व्यवहार तथा सामाजिक–भावनात्मक सिकाइ, मानवमूल्य तथा नैतिक शिक्षा, नागरिक शिक्षा, लोकतान्त्रिक मूल्य, STEAM तथा सिर्जनात्मक शिक्षा पनि छलफलका विषय बनाइनेछन्।

    मूल्याङ्कन तथा परीक्षा प्रणाली सुधार, मानसिक स्वास्थ्य तथा विद्यार्थी कल्याण, करियर मार्गदर्शन तथा उद्यमशीलता, अनुसन्धान तथा आलोचनात्मक चिन्तन, परियोजनामा आधारित व्यावहारिक सिकाइ, वातावरण तथा दिगो विकास शिक्षा र जीवनभर सिकाइका विषयमा समेत सरोकारवालाको सुझाव लिइनेछ।

    राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनसम्बन्धी कार्यदलमा PAN लाई सदस्यका रूपमा मनोनयन गरेकोमा शिक्षा मन्त्रालयप्रति धन्यवाद व्यक्त गर्दै अब आउने पुस्ताको आवश्यकता, क्षमता, रुचि र भविष्यलाई केन्द्रमा राखेर सुझाव दिन सबै शिक्षक, विद्यार्थी, अभिभावक, प्रधानाध्यापक, विज्ञ तथा सरोकारवालालाई अपिल गरिएको छ।

    सरोकारवालाले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइ तथा केन्द्रको वेबसाइटमार्फत पनि आफ्ना सुझाव, प्रतिक्रिया तथा सल्लाह दिन सक्नेछन्।

    images
    शुक्रवार, भाद्र १९ २०८३०८:१९:३९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार