Oct 02 2026 | २०८३, आश्विन १६ गते

इसिडी, प्री स्कुल र मण्टेश्वरीले नेपाली शिक्षामा ल्याए परिवर्तनको भुकम्प

इसिडी, प्री स्कुल र मण्टेश्वरीले नेपाली शिक्षामा ल्याए परिवर्तनको भुकम्प

  • 672
    SHARES

  • इसिडी, प्री स्कुल र मण्टेश्वरीले नेपाली शिक्षामा ल्याए परिवर्तनको भुकम्प

    सुरेन्द्र बोहरा। नेपाली राजनीतिमा बालेन शाहको प्रवेशले जसरी पुरानो राजनीतिक सोच र शैलीलाई चुनौती दिँदै एउटा नयाँ बहस सुरु गर्‍यो, त्यसैगरी ECD, Pre-School र Montessori शिक्षाले पनि नेपाली शिक्षा क्षेत्रमा ठूलो परिवर्तनको लहर ल्याएका छन्।

    हिजोसम्म बच्चालाई कुटेर, डर देखाएर, कराएर र दबाब दिएर पढाउनुपर्छ भन्ने सोच समाजमा बलियो थियो। तर ECD र Montessori ले त्यो सोचलाई चुनौती दिए। बच्चा डराएर होइन, रमाएर सिक्छ। कुटेर होइन, माया गरेर सिक्छ। घोकाएर होइन, खेल्दै र अनुभव गर्दै सिक्छ। यही सरल तर गहिरो दर्शन ECD तथा Montessori विद्यालयहरूले व्यवहारमा उतारे।

    हिजो नेपालका धेरै विद्यालयमा बालबालिकाका लागि खेल्दै सिक्ने वातावरण, सिर्जनात्मक गतिविधि, गीत–संगीत, नृत्य, अभिनय, खेलकुद, सांस्कृतिक कार्यक्रम र विद्यार्थीको सक्रिय सहभागितालाई शिक्षाको महत्वपूर्ण हिस्सा मानिँदैनथ्यो। आज भने यही अभ्यास secondary हुँदै Higher secondary तहसम्मका विद्यालयमा समेत विस्तार हुँदै गएको देखिन्छ।

    कतिपय ठूला विद्यालयहरूले आफूलाई ठूलो र उत्कृष्ट विद्यालय ठान्दा ECD तथा Montessori बाट सिकेका कुरा खुलेर स्वीकार गर्न संकोच गर्लान्। तर सत्यलाई स्वीकार गर्नैपर्छ—बालबालिकालाई कसरी रमाइलो वातावरणमा पढाउने भन्ने प्रयोग ECD र Pre-School ले धेरै पहिले नै सुरु गरिसकेका थिए। आज ठूला विद्यालयमा देखिने धेरै बालमैत्री अभ्यासको जग त्यही ECD कक्षाकोठामा निर्माण भएको हो। हिजो जुन कुरा ‘ECD को गतिविधि’ भनेर सामान्य रूपमा हेरिन्थ्यो, आज त्यही कुरा आधुनिक शिक्षाको महत्वपूर्ण विधि बनेको छ।

    यो कुनै सामान्य परिवर्तन होइन। यो नेपाली शिक्षा क्षेत्रमा आएको भूकम्प हो—सकारात्मक परिवर्तनको भूकम्प। यस परिवर्तनको केन्द्रमा ECD, Pre-School र Montessori विद्यालय तथा त्यहाँका शिक्षकहरू छन्।

    ECD शिक्षकले केवल साना बच्चालाई अक्षर र अंक सिकाएका छैनन्। उनीहरूले बालबालिकाको मनोविज्ञान बुझ्ने, उनीहरूको क्षमता पहिचान गर्ने, आत्मविश्वास बढाउने र सिकाइलाई जीवनसँग जोड्ने संस्कार पनि विकास गरेका छन्।

    त्यसैले ECD लाई केवल ‘नर्सरीदेखि कक्षा ३ सम्मको तयारी’ भनेर हेर्नु ठूलो भूल हो।

    ECD शिक्षाको जग हो।

    Pre-School शिक्षाको पहिलो प्रयोगशाला हो।

    Montessori बालमैत्री शिक्षाको एउटा प्रभावशाली अभ्यास हो।

    आज विद्यालयहरूमा बच्चालाई खुसी बनाउने प्रयास भइरहेको छ भने त्यसको श्रेय ECD तथा Pre-School क्षेत्रलाई पनि जानुपर्छ। शिक्षा मन्त्रालयले समेत ECD विद्यालयका शिक्षकहरूले बालबालिकालाई पढाउने तरिका र उनीहरूले प्रयोग गर्दै आएका सिर्जनात्मक विधिबाट सिक्नुपर्ने धेरै कुरा छन्। किनकि बच्चाको हात समातेर, उसको आँखामा हेरेर, उसको मन बुझेर पढाउने कला किताबमा मात्र हुँदैन—त्यो ECD कक्षाकोठामा देखिन्छ।

    अब समय आएको छ—ECD शिक्षकलाई ‘सानो कक्षाको शिक्षक’ भनेर हेर्ने होइन, शिक्षा सुधारका अग्रदूत भनेर सम्मान गर्ने।

    बालेनले राजनीतिमा नयाँ पुस्तालाई एउटा प्रश्न गर्न बाध्य बनाएझैँ ECD र Montessori शिक्षाले पनि नेपाली शिक्षा क्षेत्रलाई एउटा प्रश्न गरिरहेका छन् “हामी बच्चालाई पढाइरहेका छौँ कि बच्चालाई पढ्न बाध्य बनाइरहेका छौँ?”

    यो प्रश्नको उत्तर अब सबै विद्यालयले खोज्नुपर्छ। विद्यालय ठूलो भवन भएर मात्र ठूलो हुँदैन। महँगो शुल्क लिएर मात्र उत्कृष्ट हुँदैन। ठूलो बोर्ड झुन्ड्याएर मात्र आधुनिक हुँदैन। बच्चाको अनुहारमा मुस्कान ल्याउन सक्ने विद्यालय नै वास्तवमा ठूलो विद्यालय हो। त्यसैले आज गर्वका साथ भन्न सकिन्छ ECD, Pre-School र Montessori विद्यालयहरू नेपाली शिक्षा क्षेत्रका परिवर्तनका महानायक हुन्। उनीहरूले देखाएको बाटो अब secondary र Higher secondary तहसम्म पुग्दैछ। यही नै उनीहरूको सबैभन्दा ठूलो सफलता हो।

    हिजो ECD बाट सुरु भएको बालमैत्री शिक्षाको सानो उज्यालो आज नेपाली शिक्षा प्रणालीभरि फैलिँदैछ। त्यसैले ECD लाई सानो नठानौँ। ECD शिक्षकलाई कमजोर नसम्झौँ। बालमैत्री शिक्षालाई केवल खेल ठान्ने गल्ती नगरौँ। किनकि आजको ECD कक्षाकोठाले भोलिको नेपालको शिक्षा निर्माण गरिरहेको छ।

     

    सुरेन्द्र बोहरा. सचिव, APEN सुदूरपश्चिम प्रदेश ।

    images
    शुक्रवार, भाद्र १९ २०८३०९:०७:२४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार