आइतवार, भाद्र २१ २०८३
काठमाडौं । नेसनल प्याब्सन बागमती प्रदेश समितिको आयोजनामा थिम्याटिक करिकुलम तथा पोर्टफोलियो मेनेज्मेन्ट (Thematic Curriculum र Portfolio Management) सम्बन्धी कार्यशाला सम्पन्न भएको छ।
शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी, व्यवस्थित, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो। कार्यशालामा विषयवस्तुलाई विद्यार्थीको दैनिक जीवन, अनुभव र परिवेशसँग जोडेर सिकाउने थिम्याटिक करिकुलम तथा विद्यार्थीको सिकाइ उपलब्धि, सिर्जनात्मक कार्य र प्रगतिलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्ने पोर्टफोलियो मेनेज्मेन्टका विषयमा प्रशिक्षण दिइएको थियो।

सहभागी शिक्षक–शिक्षिकालाई कक्षाकोठामा सिकाइलाई व्यवहारिक र जीवनोपयोगी बनाउने, विद्यार्थीको सक्रिय सहभागिता बढाउने तथा उनीहरूको सिकाइ प्रगतिलाई प्रमाणका आधारमा मूल्याङ्कन र अभिलेख गर्ने विधिबारे जानकारी गराइएको थियो। कार्यक्रममा शिक्षा प्रणालीमा भइरहेको परिवर्तनसँगै शिक्षकको भूमिका पनि थप जिम्मेवार र प्रभावकारी बन्दै गएको उल्लेख गर्दै कार्यशालाबाट प्राप्त ज्ञान तथा सीपलाई विद्यालय र कक्षाकोठामा व्यवहारिक रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिइएको थियो।
कार्यक्रममा स्थानीय तह र निजी विद्यालयबीचको सहकार्य तथा समन्वयलाई थप प्रभावकारी बनाउनुपर्ने विषयमा समेत चर्चा भएको थियो। स्थानीय तहबाट निजी विद्यालय क्षेत्रलाई आवश्यक सहयोग र अवसर प्रदान गर्दै शैक्षिक गुणस्तर सुधारमा सहकार्य गर्नुपर्नेमा जोड दिइएको थियो।

‘सक्षम शिक्षक, गुणस्तरीय शिक्षा र समृद्ध भविष्य’ भन्ने भावनासहित सम्पन्न कार्यशालामा प्राप्त ज्ञान र सीपलाई आ–आफ्नो विद्यालयमा कार्यान्वयन गर्दै बागमती प्रदेशको निजी शिक्षालाई थप गुणस्तरीय र प्रभावकारी बनाउन सहभागी शिक्षकहरूलाई आग्रह गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, वडा अध्यक्ष, प्रशिक्षक, सहभागी शिक्षक–शिक्षिका, विद्यालय सञ्चालक तथा प्रधानाध्यापक, नेसनल प्याब्सन बागमती प्रदेश तथा जिल्लाका पदाधिकारीलगायतको सहभागिता रहेको थियो। कार्यशाला सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति आयोजकले धन्यवाद तथा आभार व्यक्त गरेको छ।