सोमवार, भाद्र २२ २०८३
काठमाडौं । डल्लुस्थित बुद्धज्योति एकेडेमीका विद्यार्थीले संसद्को अभ्यास गर्दै चारवटा विधेयकमाथि छलफल गरेका छन्। विद्यालयमा आयोजित नमुना संसद् अभ्यासमा विद्यार्थीहरूले सांसद, प्रधानमन्त्री तथा मन्त्रीको भूमिका निर्वाह गर्दै शून्य समय, नियमापत्ति, प्रधानमन्त्रीसँग प्रश्नोत्तर र विधेयक पारित गर्ने संसदीय प्रक्रियाको अभ्यास गरेका हुन्।

कार्यक्रममा विद्यार्थीहरूले शिक्षा, सामाजिक भेदभाव, उपभोक्ता संरक्षण तथा संस्कृति र पर्यटनसम्बन्धी चारवटा विधेयक संसद्मा प्रस्तुत गरेका थिए। प्रस्तावित विधेयकमाथि विद्यार्थी सांसदहरूले पक्ष–विपक्षमा धारणा राख्दै छलफल गरेपछि पारित गर्ने प्रक्रिया अघि बढाइएको थियो।
छलफलपछि शिक्षा विधेयक सबै पक्षका लागि स्वीकार्य हुने गरी सहमतिमा परिमार्जन गर्दै सर्वसम्मतिले पारित गरिएको थियो। शिक्षा विधेयकमाथिको छलफलमा विद्यार्थीहरूले गुणस्तरीय शिक्षा, समान अवसर तथा विद्यार्थीका अधिकारलगायतका विषय उठाएका थिए।

नमुना संसद्मा विद्यार्थीहरूले आकस्मिक समय र शून्य समयमा समसामयिक विषयमा धारणा राखेका थिए। नियमापत्तिमार्फत संसद्को कार्यविधि र अनुशासनको अभ्याससमेत गरिएको थियो। प्रधानमन्त्रीको भूमिकामा रहेका विद्यार्थीसँग अन्य विद्यार्थी सांसदहरूले विभिन्न विषयमा प्रश्न गरेका थिए।
विद्यालयका अनुसार कार्यक्रमको उद्देश्य विद्यार्थीलाई संसद्को कार्यप्रणाली, कानुन निर्माणको प्रक्रिया तथा लोकतान्त्रिक अभ्यासबारे व्यवहारिक ज्ञान दिनु हो।

विद्यालयका सभापति जीवनराज पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि माननीय निश्कल राई तथा विशेष अतिथि शिक्षा विकास तथा समन्वय इकाइका परीक्षा प्रमुख दुर्गा बहादुर भुजेल सहभागी थिए। वरिष्ठ साहित्यकार डा. विनोद मञ्जन तथा राष्ट्रियसभाका पूर्वसचिव एवं वरिष्ठ पत्रकार राजेन्द्र फुयाँल निर्णायकका रूपमा रहेका थिए।

कार्यक्रममा पत्रकार तथा सञ्चारकर्मीको समेत उपस्थिति थियो। नमुना संसद् अभ्यास टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिएको विद्यालयले जनाएको छ।
विद्यालयका संयोजक अर्जुन अधिकारीले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा विद्यार्थीले संसद् सञ्चालन, प्रश्नोत्तर, विधेयकमाथिको बहस र मतदानमार्फत निर्णय गर्ने प्रक्रियाको अभ्यास गरेका थिए।

विशेष अतिथि भुजेलले विद्यार्थीले गरेको संसदीय अभ्यासले उनीहरूमा नेतृत्व क्षमता र सार्वजनिक विषयमा धारणा राख्ने आत्मविश्वास विकास गर्न सहयोग पुग्ने बताए।
प्रमुख अतिथि निश्कल राईले कक्षाकोठाको सिकाइलाई व्यवहारिक अभ्याससँग जोड्न यस्ता कार्यक्रम उपयोगी हुने धारणा राखे।

सभापति पन्थीले नमुना संसद् विद्यार्थीलाई लोकतान्त्रिक प्रणाली र संसदीय प्रक्रियाबारे प्रत्यक्ष रूपमा बुझाउने माध्यम भएको बताए।
कार्यक्रममा सहभागी सबै विद्यार्थीलाई गोल्ड मेडल प्रदान गरिएको थियो। नमुना संसद् अभ्यासमा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीलाई ट्रफी प्रदान गरिएको थियो।

कार्यक्रमको सञ्चालन दिपक मरहठ्ठाले गरेका थिए। अतिथिको मन्तव्य तथा पुरस्कार वितरणपछि कार्यक्रम समापन गरिएको थियो।







