सोमवार, भाद्र २२ २०८३
काठमाडौं । गत भदै १० गते भोटेकोसीमा आएको भीषण बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति हुनुका साथै घर, सडक, पुल, विद्यालयलगायतका भौतिक संरचनामा क्षति पुगेको छ। विपद्का कारण धेरै परिवार विस्थापित भएका अवस्थामा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका प्रयास भइरहेका छन्।
यस विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले काठमाडौको कलंकीस्थित लर्निङ रियल्म इन्टरनेसनल (एलआरआई) स्कुलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ८ लाख ५५ हजार २७८ सहयोग गरेको छ।
यस्तो कठिन परिस्थितिमा विपद् प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै एलआरआई स्कुलले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उद्धार कोषमा उक्त रकम प्रदान गरेको हो।
विद्यालयले विपद्का समयमा प्रभावित परिवारलाई सहयोग गर्नु मानवीय कर्तव्यसँगै संस्थागत सामाजिक उत्तरदायित्व पनि भएकाले राहत तथा पुनःस्थापनाका प्रयासमा आफ्नो तर्फबाट योगदान गरेको जनाएको छ। विद्यालयको सहयोगले विपद् प्रभावित परिवारको तत्कालीन राहत तथा पुनःस्थापनाका कार्यमा केही भए पनि टेवा पुग्ने विश्वास गरिएको छ।
शिक्षा प्रदान गर्ने संस्थाको भूमिकासँगै सामाजिक सेवा, मानवीय संवेदना र जिम्मेवार नागरिक निर्माणलाई समेत प्राथमिकता दिँदै आएको एलआरआई स्कुलले जनाएको छ।
विद्यालयका यस्ता सामाजिक पहलले विद्यार्थीमा विपद्प्रतिको संवेदनशीलता, सहयोगी भावना र सामाजिक उत्तरदायित्वको संस्कार विकास गर्नसमेत योगदान पुग्ने अपेक्षा गरिएको छ।