बिहिवार, भाद्र २५ २०८३
काठमाडौं । सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साललाई नियुक्त गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्।
मन्त्रिपरिषद्ले आयोगको सदस्यमा मकवानपुरका रामशरण सापकोटा र महिला सदस्यमा काठमाडौंकी विष्णु घिमिरे रिमाललाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ। नयाँ पदाधिकारी नियुक्तिसँगै शिक्षक सेवा आयोगले अब नियमित कामकारबाही तथा शिक्षकसम्बन्धी सेवा प्रक्रियालाई थप प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ। अध्यक्ष नियुक्त भएका डा. लम्साल शिक्षा प्रशासनमा लामो अनुभव भएका अधिकारी हुन्। उनी यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिवका रूपमा कार्यरत थिए।
मन्त्रालयमा रहँदा उनले प्राविधिक तथा व्यावसायिक शिक्षालगायत शिक्षा क्षेत्रका विभिन्न नीति तथा कार्यक्रमसँग सम्बन्धित जिम्मेवारी सम्हालेका थिए। राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ निर्माण प्रक्रियामा पनि उनी मन्त्रालयका सहसचिवका रूपमा संलग्न रहेको सरकारी दस्तावेजमा उल्लेख छ।
लम्साल २०८० चैतमा सचिवमा बढुवा भएका थिए। सचिव बढुवा सिफारिस समितिले उनलाई पहिलो नम्बरमा सिफारिस गरेपछि मन्त्रिपरिषद्ले सचिवमा बढुवा गरेको थियो। उनी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कायममुकायम प्रमुख सचिवका रूपमा समेत कार्यरत थिए।
शिक्षा क्षेत्रमा उनको लामो प्रशासनिक तथा नीतिगत अनुभव रहेको देखिन्छ। उनले शिक्षक समायोजन, प्राविधिक तथा व्यावसायिक शिक्षा र शिक्षा प्रणाली सुधारका विषयमा लेख तथा नीति छलफलमा समेत योगदान दिएका छन्।
यसअघि शिक्षक सेवा आयोगको अध्यक्ष छनोट प्रक्रियामा छ जना उम्मेदवार संक्षिप्त सूचीमा परेका थिए। जसमा डा. लम्सालसहित मधुसूदन अधिकारी, यादवप्रसाद कोइराला, रघुराम विष्ट, डा. रोजनाथ पाण्डे र सुरेश अधिकारी थिए।
संक्षिप्त सूचीमा परेकाहरूको अवधारणापत्रसहित व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता भदौ २ देखि ८ गतेसम्म लोक सेवा आयोगको केन्द्रीय कार्यालय, कमलपोखरीमा सञ्चालन गरिएको थियो।
अब नवनियुक्त अध्यक्ष लम्सालसामु शिक्षक छनोट तथा सिफारिस प्रक्रियालाई निष्पक्ष, पारदर्शी र प्रभावकारी बनाउने, शिक्षक व्यवस्थापनसँग जोडिएका विषयलाई व्यवस्थित गर्ने तथा आयोगका परीक्षा र सेवा प्रक्रियालाई समयमै अघि बढाउने महत्वपूर्ण जिम्मेवारी रहनेछ।