शनिवार, भाद्र २७ २०८३
काठमाडौं, भदौ २७ गते । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षालाई थप व्यवहारिक, सीपमूलक र समयसापेक्ष बनाउन राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि मधेश प्रदेशका विभिन्न जिल्लामा स्थलगत रूपमा सुझाव संकलन गरिरहेका छन्।
मन्त्री पोखरेलका अनुसार विद्यालय तथा क्याम्पसस्तरमै पुगेर विद्यार्थी, शिक्षक र अभिभावकसँग प्रत्यक्ष संवाद गर्दै पाठ्यक्रममा आवश्यक सुधारका विषयमा सुझाव लिने काम भइरहेको छ। आगामी शैक्षिक सत्रदेखि कार्यान्वयन गर्ने गरी ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ जस्ता नवीन अवधारणालाई समेट्ने विषयमा समेत सरोकारवालासँग छलफल भइरहेको उनले बताएका छन्।

मधेश प्रदेशका सिरहा र सप्तरीमा आयोजित अन्तरक्रियामा एक सयभन्दा बढी विद्यार्थी, शिक्षक, अभिभावक तथा अन्य सरोकारवालाको सहभागिता रहेको मन्त्री पोखरेलले जानकारी दिएका छन्। धेरैभन्दा धेरै सरोकारवालाको आवाज सुन्ने उद्देश्यले स्थलगत रूपमा सुझाव संकलन गरिएको उनको भनाइ छ।
तर, अन्तरक्रियाका क्रममा दुई जना व्यक्तिले आएर हल्ला गरेपछि अन्य विद्यार्थी, शिक्षक तथा अभिभावकको सहभागिता प्रभावित हुने अवस्था सिर्जना भएकाले आफूहरू कार्यक्रमस्थलबाट बाहिरिएको मन्त्री पोखरेलले बताएका छन्।
उक्त घटनासँग सम्बन्धित एक मिनेटभन्दा छोटो भिडियो क्लिप काटेर सम्पूर्ण घटनाको सन्दर्भ नै बङ्ग्याउने र भ्रम फैलाउने प्रयास भएको उनको दाबी छ। लोकतान्त्रिक व्यवस्थामा असहमति जनाउने अधिकार सबैलाई भए पनि पूरा सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउन नहुने मन्त्री पोखरेलको भनाइ छ।
उनले कुनै भ्रम वा भ्रामक प्रचारले शिक्षा सुधारको अभियानलाई रोक्न नसक्ने बताएका छन्। कार्यक्रमस्थलबाट बाहिरिएपछि पनि टोलीले सिरहास्थित बहिरा बालबालिका अध्ययन गर्ने विद्यालय तथा मदरसा शिक्षालयमा पुगेर विद्यार्थीहरूसँग संवाद गरेको उनले जानकारी दिएका छन्।
मन्त्री पोखरेलका अनुसार एकै दिन करिब आठदेखि १० वटा विद्यालयमा पुगेर पाठ्यक्रम परिमार्जनका विषयमा सुझाव संकलन गरिएको छ। विद्यालय तहमा पुगेर विद्यार्थी, शिक्षक र अभिभावकका वास्तविक अनुभव तथा आवश्यकतालाई बुझेर पाठ्यक्रम सुधारको आधार तयार गर्ने प्रयास भइरहेको उनले बताएका छन्।
मन्त्री पोखरेलले मधेश प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको बढ्दो प्रभाव र शिक्षा क्षेत्रमा भइरहेका सकारात्मक कामप्रति असन्तुष्टि हुन सक्ने उल्लेख गर्दै त्यसका आधारमा भ्रम फैलाउनुभन्दा आफूहरूले गरिरहेको कामलाई जनताले आफैँ मूल्याङ्कन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। ‘राजनीतिक स्टन्ट वा हल्ला गर्न नभई ग्राउन्डमै पुगेर शिक्षा क्षेत्रमा वास्तविक र सकारात्मक परिवर्तन ल्याउन’ आफूहरू मधेशमा आएको उनको भनाइ छ।
मन्त्री पोखरेलले ‘हल्लाभन्दा काम ठूलो हो’ भन्दै आफूहरूको काम र नियतको मूल्याङ्कन जनताले नै गर्ने बताएका छन्। मधेश प्रदेशमा सुझाव संकलनको काम सकेर टोली सप्तरी हुँदै मोरङतर्फ जाने तयारीमा रहेको उनले जानकारी दिएका छन्।