Oct 02 2026 | २०८३, आश्विन १६ गते

विद्यार्थीको नेतृत्व विकासमा नयाँ पहल, कामना स्कुलमा इन्टर्‍याक्ट क्लब गठन

विद्यार्थीको नेतृत्व विकासमा नयाँ पहल, कामना स्कुलमा इन्टर्‍याक्ट क्लब गठन

  • 303
    SHARES

  • विद्यार्थीको नेतृत्व विकासमा नयाँ पहल, कामना स्कुलमा इन्टर्‍याक्ट क्लब गठन

    काठमाडौँ, २७ भदौ २०८३। विद्यार्थीमा नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व र सेवाभाव विकास गर्ने उद्देश्यले कामना इन्टरनेसनल स्कुल एन्ड कलेजमा ‘इन्टर्‍याक्ट क्लब अफ कामना–स्वयम्भू’ गठन गरिएको छ।

    रोटरी क्लब अफ स्वयम्भूको प्रायोजन तथा संयोजनमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा क्लबको औपचारिक पदस्थापन समारोह (इन्स्टलेसन सेरेमोनी) समेत सम्पन्न भएको हो।

    IMG-20260913-WA0001.jpg

    समारोहबाट आईटीआर खुसी श्रेष्ठ क्लबको चार्टर प्रेसिडेन्ट (संस्थापक अध्यक्ष) पदमा सर्वसम्मत रूपमा मनोनीत हुनुभएको छ। नयाँ क्लब गठनसँगै विद्यार्थीलाई सामाजिक सेवा, नेतृत्व विकास तथा रचनात्मक गतिविधिमा सक्रिय सहभागी गराउने वातावरण तयार भएको विद्यालयले जनाएको छ। कार्यक्रममा इन्टर्‍याक्ट डिस्ट्रिक्टका जेडआईआर आईटीआर आर्यामान पण्डित प्रमुख अतिथिका रूपमा तथा रोटर्‍याक्ट क्लब अफ स्वयम्भूकी अध्यक्ष आरटीआर सुबिना मगर विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

    त्यसैगरी रोटरी क्लब अफ स्वयम्भूका अध्यक्ष आरटीएन राजेन्द्र कोइराला, इन्टर्‍याक्ट संयोजक आरटीएन विशाल भट्टराई, क्याम्पस चिफ महेश कुमार श्रेष्ठ र विद्यालयका प्रधानाध्यापक नवराज पाण्डेले कार्यक्रममा सहभागिता जनाउनुभएको थियो।

    IMG-20260913-WA0010.jpg

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि आर्यामान पण्डितले नवगठित क्लबका पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै इन्टर्‍याक्ट क्लबले विद्यार्थीमा नेतृत्व गुण, सामाजिक उत्तरदायित्व र सेवाभाव विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। विद्यालयका प्रधानाध्यापक नवराज पाण्डेले शिक्षासँगै सामाजिक सेवाका गतिविधिलाई विद्यालयले प्राथमिकता दिँदै आएको बताउँदै नवगठित क्लबलाई आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    क्लबले आगामी दिनमा विद्यालय तथा स्थानीय समुदायमा विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। वातावरण संरक्षणका लागि वृक्षारोपण तथा सरसफाइ अभियान, विपन्न तथा आवश्यकतामा रहेका बालबालिकालाई शैक्षिक सामग्री वितरण र रक्तदानजस्ता कार्यक्रम सञ्चालन गर्ने क्लबको योजना छ।

    त्यस्तै विद्यार्थीको क्षमता अभिवृद्धिका लागि नेतृत्व विकास तथा व्यक्तित्व विकाससम्बन्धी तालिम सञ्चालन गर्नुका साथै विभिन्न अन्तरविद्यालय बौद्धिक प्रतियोगितासमेत आयोजना गरिने क्लबले जनाएको छ।

    नवगठित इन्टर्‍याक्ट क्लबले विद्यार्थीलाई अध्ययनसँगै सामाजिक सेवामा जोड्दै उनीहरूको नेतृत्व क्षमता, सहकार्यको भावना र रचनात्मक सोच विकास गर्ने लक्ष्य लिएको छ।

    images
    आइतवार, भाद्र २८ २०८३०८:५१:३०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार