सोमवार, भाद्र २९ २०८३
काठमाडौँ । भोटेकोसी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि बर्नहार्ट स्कुल/कलेजले १० लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ। कलेज परिवारबाट संकलित रकममध्ये २ लाख ५० हजार रुपैयाँ हिसानमार्फत र ७ लाख ६१ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा प्रत्यक्ष जम्मा गरिएको हो।

प्रत्यक्ष सहयोग रकम कलेजका प्रिन्सिपल पुरुषोत्तम बिष्ट र अध्यक्ष भुपेस छत्कुलीले अर्थमन्त्री स्वणिम वाग्लेलाई सिंहदरबारस्थित अर्थ मन्त्रालयमा हस्तान्तरण गरेका हुन्।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै काठमाडौँ बर्नहार्ट सेकेण्डरि स्कुल तथा कलेजले मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा सुरक्षित पुनर्स्थापनाका कार्यलाई प्रभावकारी बनाउन सरकार र सम्बन्धित निकायसँग आग्रह गरेको छ।
विपद्को कठिन समयमा शैक्षिक संस्थाले पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने भन्दै बर्नहार्टले प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग गरिएको जनाएको छ।