शुक्रवार, आश्विन २ २०८३
काठमाडौं । शिक्षा विभागले सामुदायिक विद्यालयहरूलाई IEMIS मा विद्यालयमा वास्तविक रूपमा अध्ययनरत विद्यार्थीको तथ्याङ्क मात्रै कायम गर्न निर्देशन दिएको छ।
विभागले २०८३ असोज मसान्तभित्र विद्यालयमा नियमित अध्ययनरत विद्यार्थीको विवरण IEMIS मा अद्यावधिक गर्न निर्देशन दिएको हो। विद्यालयमा उपस्थित विद्यार्थी संख्या र IEMIS मा रहेको कक्षागत विद्यार्थी विवरण फरक रहेको भन्दै विभिन्न सञ्चारमाध्यम तथा अन्य माध्यमबाट आर्थिक अनियमिततासम्बन्धी गुनासा तथा उजुरी प्राप्त भएपछि विभागले यस्तो निर्देशन दिएको जनाएको छ।
IEMIS मा रहेको विद्यार्थी विवरणका आधारमा दिवा खाजा, छात्रवृत्ति, पाठ्यपुस्तक, प्रतिविद्यार्थी लागत अनुदानलगायत विभिन्न शीर्षकमा स्थानीय तहले विद्यालयलाई अनुदान उपलब्ध गराउँदै आएको छ। विद्यार्थी संख्या गलत राख्दा अनुदान रकममा समेत अनियमितता हुन सक्ने भएकाले विभागले तथ्याङ्क यथार्थपरक बनाउन विद्यालयहरूलाई सचेत गराएको हो।
विभागका अनुसार विद्यालयको कक्षाकोठामा उपस्थित विद्यार्थी र IEMIS मा रहेको विद्यार्थी विवरण फरक भएमा विद्यालयमा नियमित अध्ययनरत विद्यार्थीको विवरण मात्रै कायम गर्नुपर्नेछ। नियमित अध्ययनरत नभएका विद्यार्थीलाई IEMIS बाट ‘Not in School’ गरी हटाउनुपर्नेछ।
त्यस्तै, विद्यालयमा नियमित रूपमा उपस्थित रहेका तर IEMIS मा विवरण नभएका विद्यार्थीको अभिलेखसमेत अद्यावधिक गर्न विभागले निर्देशन दिएको छ।
विद्यार्थीको विवरण गलत राख्नु कानुनी रूपमा दण्डनीय हुने भन्दै विभागले यसका लागि प्रधानाध्यापक, IEMIS फोकल पर्सन तथा लेखासम्बन्धी काम गर्ने शिक्षक वा कर्मचारीलाई प्रमुख जिम्मेवार हुने स्पष्ट गरेको छ।
विभागले स्थानीय तहलाई विद्यार्थी विवरण सत्यापन गरेर मात्र अनुदान निकासा गर्न तथा शिक्षा विकास तथा समन्वय एकाइलाई स्थानीय तहसँग समन्वय गरी तथ्याङ्क सत्यापनमा सहयोग गर्न निर्देशन दिएको छ।
विद्यालयको IEMIS मा अद्यावधिक भएका विद्यार्थी संख्या लगायतका विवरण सर्वसाधारणले समेत हेर्न मिल्ने गरी Data Portal मा राखिएको विभागले जनाएको छ।
