आइतवार, आश्विन ४ २०८३
काठमाडौं । एपेक्स लाइफ स्कुलको आयोजनामा दोस्रो एपेक्स लाइफ स्कुल अन्तरविद्यालय गायन प्रतियोगिता–२०८३ सम्पन्न भएको छ। ‘हाम्रो देश हाम्रो सान–नेपाल हाम्रो पहिचान’ भन्ने नारासहित आयोजित ‘Young Voices of Roots’ प्रतियोगितामा ३६ विद्यालयका विद्यार्थीले सहभागिता जनाएका थिए।

संविधान दिवसको अवसरमा आयोजित प्रतियोगितामा विद्यार्थीहरूले राष्ट्रप्रेम, राष्ट्रिय पहिचान र देशभक्तिको भाव बोकेका गीत–संगीत प्रस्तुत गरेका थिए। विद्यार्थीको सांगीतिक प्रतिभा र सिर्जनात्मक क्षमतालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा डीएभी स्कुल प्रथम, काठमाडौं प्रज्ञाकुञ्ज स्कुल द्वितीय र अक्सिडेन्टल स्कुल तृतीय भएका छन्। यस्तै, उत्कृष्ट प्रस्तुतिका आधारमा ७ विद्यालयलाई सान्त्वना पुरस्कार प्रदान गरिएको छ।
प्रतियोगिताको निर्णायकका रूपमा वरिष्ठ गायक तथा संगीतकार राजु सिंह र वरिष्ठ गायक तथा संगीतकार भविन ढुंगानाले भूमिका निर्वाह गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि संविधानविद् भीमार्जुन आचार्यले राष्ट्रप्रेम र देशभक्तिको भाव बोकेका गीत–संगीतले समाजमा गहिरो प्रभाव पार्ने बताए। विद्यार्थीहरूले गीतमार्फत राष्ट्रप्रेम र संविधानप्रतिको भावना प्रस्तुत गर्नु प्रशंसनीय रहेको उल्लेख गर्दै उनले यस्ता कार्यक्रमले संविधानको मर्म र एकताको भावनालाई जनस्तरसम्म पुर्याउन सहयोग गर्ने धारणा राखे। उनले प्रतियोगितालाई निरन्तरता दिनुपर्ने र उत्कृष्ट प्रस्तुतिहरूको रेकर्डिङ गर्न सके अझ प्रभावकारी हुने बताए।

एपेक्स लाइफ स्कुलका संस्थापक प्रिन्सिपल सुवास न्यौपानेले विद्यार्थीको सांगीतिक प्रतिभा पहिचान र विकासका लागि प्रतियोगितालाई निरन्तरता दिइएको बताए।
कार्यक्रममा प्रिन्सिपल प्रद्युम्न पौडेल, ब्राइट फ्युचर स्कुलका प्रिन्सिपल मोहन कार्की, एनप्याब्सनका महासचिव प्रकाश खड्का, उपाध्यक्ष शम्भु अधिकारी र काठमाडौं जिल्ला अध्यक्ष अमृत खड्कालगायतको उपस्थिति रहेको थियो। एनप्याब्सनका महासचिव प्रकाश खड्काले विद्यार्थीको प्रतिभा पहिचान र विकासका लागि अतिरिक्त क्रियाकलाप महत्वपूर्ण रहेको धारणा व्यक्त गरे।
प्रतियोगिताको नतिजाअनुसार प्रथम डीएभी स्कुल, द्वितीय काठमाडौं प्रज्ञाकुञ्ज स्कुल र तृतीय अक्सिडेन्टल स्कुल भएका छन्। प्रतियोगितामा सहभागी ३६ विद्यालयमध्ये ७ विद्यालयले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्।