Oct 02 2026 | २०८३, आश्विन १६ गते

पाठ्यक्रम निर्माणमा विद्यार्थी, शिक्षक र अभिभावकको सुझाव समेटिँदै

पाठ्यक्रम निर्माणमा विद्यार्थी, शिक्षक र अभिभावकको सुझाव समेटिँदै

  • 248
    SHARES

  • पाठ्यक्रम निर्माणमा विद्यार्थी, शिक्षक र अभिभावकको सुझाव समेटिँदै

    काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नयाँ पाठ्यक्रम निर्माण गर्दा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायका सुझावलाई समेटिने बताएका छन्।

    संसदमा शिक्षा क्षेत्रसँग सम्बन्धित विषयमा धारणा राख्दै मन्त्री पोखरेलले पाठ्यक्रम निर्माणलाई विज्ञ र सरकारी निकायमा मात्र सीमित नराखी यसको प्रत्यक्ष प्रयोगकर्ता विद्यार्थी, शिक्षक र अभिभावकको अनुभव तथा सुझावलाई प्राथमिकता दिइने बताएका हुन्।

    उनका अनुसार विद्यालय तहको पाठ्यक्रम समयअनुकूल बनाउन देशभरबाट सुझाव तथा पृष्ठपोषण संकलन भइरहेको छ। कक्षाकोठादेखि समुदायसम्म पुगेर संकलन गरिएका सुझावलाई आधार बनाएर राष्ट्रिय पाठ्यक्रम प्रारूपमा आवश्यक परिमार्जन गरिनेछ।

    मन्त्री पोखरेलले काठमाडौंमा बसेर बन्द कोठाबाट मात्र पाठ्यक्रम निर्माण गर्ने अभ्यासलाई परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन्। विद्यार्थीले भोगेका समस्या, शिक्षकका अनुभव र अभिभावक तथा स्थानीय समुदायका अपेक्षालाई पाठ्यक्रम निर्माणको आधार बनाउने उनको भनाइ छ।

    पाठ्यक्रम विकास केन्द्रका अनुसार राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६ परिमार्जनका लागि सातै प्रदेशका २८ भन्दा बढी जिल्ला तथा विभिन्न स्थानीय तह, विद्यालय र कक्षाकोठासम्म पुगेर सुझाव संकलन गरिएको छ। यस क्रममा २५ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष रूपमा सहभागी भएका छन्।

    सुझाव संकलनका क्रममा कृत्रिम बुद्धिमत्ता (एआई), कोडिङ, नैतिक शिक्षा, संस्कार, जलवायु परिवर्तन, सीप, उद्यमशीलता तथा व्यावहारिक शिक्षालाई पाठ्यक्रममा समेट्नुपर्ने विषय प्रमुख रूपमा उठेका छन्। त्यस्तै ‘बुक फ्री डे’ तथा ‘ब्यागलेस डे’ जस्ता अभ्यासलाई प्रभावकारी बनाउने सुझावसमेत आएका छन्।

    मन्त्री पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्नेगरी तयारी भइरहेको बताएका छन्। कक्षा १ देखि १२ सम्मकै पाठ्यक्रममा समयसापेक्ष सुधार गर्ने सरकारको तयारी रहेको उनले बताएका छन्। नयाँ पाठ्यक्रमलाई किताबी ज्ञानमा मात्र सीमित नराखी विद्यार्थीलाई व्यावहारिक, प्राविधिक तथा सीपमूलक ज्ञान दिने दिशामा अघि बढाइने सरकारको तयारी छ।

    पछिल्लो समय प्रविधि र एआईको तीव्र विकासलाई समेत पाठ्यक्रममा कसरी समेट्ने भन्ने विषयमा सुझाव संकलन भइरहेको छ।

    पाठ्यक्रम विकास केन्द्रले प्राप्त सुझावका आधारमा आवश्यक परिमार्जन गरी प्रभावकारी कार्यान्वयनतर्फ अघि बढ्ने जनाएको छ। यसले नयाँ पाठ्यक्रम निर्माणमा विद्यार्थी, शिक्षक, अभिभावक र समुदायको प्रत्यक्ष सहभागितालाई जोड दिएको देखिन्छ।

    images
    मंगलवार, आश्विन ६ २०८३०५:५५:५३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार