Oct 02 2026 | २०८३, आश्विन १६ गते

एपेनद्वारा पाठ्यक्रम विकास केन्द्रमा प्रारम्भिक बालशिक्षा सुधारका सुझाव हस्तान्तरण

एपेनद्वारा पाठ्यक्रम विकास केन्द्रमा प्रारम्भिक बालशिक्षा सुधारका सुझाव हस्तान्तरण

  • 396
    SHARES

  • एपेनद्वारा पाठ्यक्रम विकास केन्द्रमा प्रारम्भिक बालशिक्षा सुधारका सुझाव हस्तान्तरण

    काठमाडौं । एसोसिएसन अफ प्रिस्कुल एजुकेटर्स नेपाल (एपेन) ले प्रारम्भिक बालविकास तथा शिक्षाको पाठ्यक्रम सुधारका लागि तयार पारेका नीतिगत तथा पाठ्यक्रमसम्बन्धी सुझावहरू पाठ्यक्रम विकास केन्द्र (सीडीसी) समक्ष हस्तान्तरण गरेको छ।

    एपेनका केन्द्रीय अध्यक्ष कृष्णकुमार बोहराले केन्द्रमा पुगेर सुझावपत्र हस्तान्तरण गरेका हुन्। सुझावमा प्रारम्भिक बालशिक्षालाई थप बालमैत्री, व्यवहारिक र विकासमुखी बनाउनुपर्नेमा जोड दिइएको छ। एपेनले ० देखि ८ वर्ष उमेर समूहका बालबालिकाको विकासात्मक आवश्यकतालाई केन्द्रमा राखेर प्रारम्भिक बालविकास तथा शिक्षाको नीति र पाठ्यक्रम निर्माण तथा परिमार्जन गर्नुपर्ने सुझाव दिएको छ।

    सुझावपत्रमा बालबालिकाको सर्वाङ्गीण विकास, खेलमा आधारित सिकाइ, बालकेन्द्रित शिक्षण, समावेशी शिक्षा तथा जीवनोपयोगी सीपलाई पाठ्यक्रमको महत्वपूर्ण आधार बनाउनुपर्ने उल्लेख छ।

    त्यस्तै, बालबालिकाको सिकाइलाई स्थानीय संस्कृति, भाषा, समुदाय र परिवेशसँग जोड्नुपर्ने तथा उनीहरूको उमेर र विकासको अवस्थाअनुसार सिकाइका गतिविधि निर्धारण गर्नुपर्ने एपेनको सुझाव छ।

    अध्यक्ष बोहराले पाठ्यक्रम निर्माण केवल कागजी प्रक्रिया नभई बालबालिकाको भविष्य निर्माण गर्ने महत्वपूर्ण आधार भएकाले यसमा सरोकारवालाको अनुभव र सुझाव समेटिनुपर्ने बताए।

    उनले शिक्षक, अभिभावक, प्रारम्भिक बालविकास विज्ञ, विद्यालय तथा समुदायको अनुभवलाई पाठ्यक्रम सुधारको प्रक्रियामा समेट्दा प्रारम्भिक बालशिक्षा थप प्रभावकारी र बालमैत्री बन्ने धारणा राखे।

    एपेनले प्रारम्भिक बालशिक्षाको गुणस्तर अभिवृद्धि, बालअधिकारको संरक्षण, समावेशीता र बालबालिकाको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राख्दै सम्बन्धित सरकारी निकायसँग सहकार्य र नीतिगत योगदानलाई निरन्तरता दिने जनाएको छ।

    images
    मंगलवार, आश्विन ६ २०८३०९:५७:५२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार