Oct 02 2026 | २०८३, आश्विन १६ गते

पेसा एउटा, भूमिका अनेक : शिक्षकको व्यक्तिगत जीवनको कथा

पेसा एउटा, भूमिका अनेक : शिक्षकको व्यक्तिगत जीवनको कथा

  • 456
    SHARES

  • पेसा एउटा, भूमिका अनेक : शिक्षकको व्यक्तिगत जीवनको कथा

    सीता शाह । शिक्षकको परिचय प्रायः एउटै हुन्छ—शिक्षक। तर उसको जीवन? जीवनमा उसले निर्वाह गर्नुपर्ने भूमिका गन्न थाल्यो भने एउटा परिचयले मात्र पुग्दैन। बिहान घरबाट निस्कँदा ऊ परिवारको सदस्य हुन्छ। विद्यालय पुगेपछि शिक्षक बन्छ।

    विद्यार्थीका लागि मार्गदर्शक, सहकर्मीका लागि साथी, समाजका लागि उदाहरण र कहिलेकाहीँ सार्वजनिक तथा राजनीतिक गतिविधिमा सहभागी हुने जिम्मेवार नागरिक पनि हुन्छ। तर अचम्म के छ भने, समाजले शिक्षकबाट अनेकौँ भूमिका खोज्छ, तर शिक्षकको आफ्नै व्यक्तिगत भूमिकालाई भने प्रायः बिर्सन्छ।

    विद्यालयमा भनिन्छ—“शिक्षकले समय दिनुपर्छ।”

    घरमा भनिन्छ—“परिवारलाई पनि समय चाहिन्छ।”

    समाजमा भनिन्छ—“तपाईं त शिक्षक, तपाईंले अगुवाइ गर्नुपर्छ।”

    सार्वजनिक जीवनमा भनिन्छ—“तपाईंको सहभागिता आवश्यक छ।”

    शिक्षक पनि मुस्कुराउँदै सबैलाई समय दिन खोज्छ। तर कहिलेकाहीँ उसको आफ्नै मनले सोध्छ “मेरो समयचाहिँ कसको हो?”

    शिक्षक बिरामी हुँदा पनि विद्यालय सम्झन्छ। घरमा पारिवारिक समस्या हुँदा पनि विद्यार्थीको भविष्य सम्झन्छ। आफू थाकेको दिन पनि कक्षाकोठामा उभिएर विद्यार्थीलाई उत्साह बाँड्छ। तर उसको थकान देख्ने र बुझ्ने फुर्सद भने सबैलाई नहुन सक्छ।

    अझ शिक्षकले सामाजिक वा राजनीतिक गतिविधिमा आफ्नो नागरिक अधिकार प्रयोग गर्न खोज्यो भने प्रश्न उठ्छ । “शिक्षक भएर राजनीति गर्ने?”

    सामाजिक कार्यक्रममा सहभागी भयो भने “शिक्षक त सधैँ बाहिरै हुन्छ।”

    परिवारलाई समय दियो भने “विद्यालयको काम छुट्यो कि?”

    विद्यालयमा बढी समय दियो भने “घरपरिवारलाई समय दिँदैन।”

    अर्थात् शिक्षकले जे गरे पनि कसै न कसैको नजरमा कमी देखिन सक्छ।

    तर शिक्षक हुनु भनेको आफ्ना इच्छा, भावना, परिवार, मित्रता, आराम र व्यक्तिगत जीवन सबै त्याग्नु होइन। शिक्षक पनि अरू मानिसजस्तै हाँस्न चाहन्छ, घुम्न चाहन्छ, परिवारसँग समय बिताउन चाहन्छ, आफ्ना सपना पछ्याउन चाहन्छ र आफ्नो विचार राख्न चाहन्छ। शिक्षकलाई आदर्श मान्नु राम्रो हो, तर आदर्श बनाउने नाममा उसको मानवीय जीवन खोस्नु राम्रो होइन। शिक्षकको जिम्मेवारी ठूलो छ। त्यसैले उसको व्यक्तिगत जीवनको सम्मान पनि त्यत्तिकै आवश्यक छ। कक्षाकोठामा शिक्षकले विद्यार्थीलाई जीवन जिउन सिकाउँछ।

    सायद अब समाजले पनि शिक्षकबाट एउटा कुरा सिक्नुपर्छ ।

    शिक्षक अरूको भविष्य बनाउने व्यक्ति मात्र होइन, आफ्नै वर्तमान बाँचिरहेको एउटा साधारण मानिस पनि हो।

    उसको पेसा एउटा होला, तर भूमिका अनेक छन्।

    र ती सबै भूमिका पूरा गर्दागर्दै उसलाई आफ्नो जीवन बाँच्ने अधिकार पनि छ।

    त्यसैले शिक्षकलाई केवल कक्षाकोठाको चस्माले नहेरौँ। उसको जिम्मेवारी बुझौँ, उसको योगदानको सम्मान गरौँ, तर उसको निजी जीवनमा पनि एउटा मान्छे देख्न सिकौँ। किनकि शिक्षक पनि समाजकै एउटा सदस्य हो! शाह कैलाली जिल्लाको NNTA को उपाध्यक्ष हुनुहुन्छ ।

    images
    बिहिवार, आश्विन ८ २०८३०६:५५:२५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार