बिहिवार, आश्विन १५ २०८३
धनगढी । सुदूरपश्चिम प्रदेशमा शिक्षक तथा शिक्षा क्षेत्रका समसामयिक विषयमा केन्द्रित प्रादेशिक शिक्षक सम्मेलन (Provincial Teachers’ Conference – Sudurpashchim) आयोजना हुने भएको छ।
काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनअन्तर्गतको Continuing and Professional Education Center (CPEC) र सुदूरपश्चिम विश्वविद्यालयको Central Department of Education (CDE) को सहकार्यमा सम्मेलन आयोजना हुन लागेको हो।

आयोजकका अनुसार सम्मेलन आगामी असोज १७ गते (३ अक्टोबर २०२६) सुदूरपश्चिम विश्वविद्यालय, महेन्द्रनगरमा आयोजना हुनेछ। सम्मेलनमा Association of Pre-school Educators Nepal (APEN) कैलाली र कञ्चनपुर सहकार्यकर्ताका रूपमा जोडिएका छन्।
सम्मेलनमा शिक्षकहरूको व्यावसायिक विकास, शिक्षण–सिकाइका नयाँ अभ्यास, अनुभव आदानप्रदान तथा सुदूरपश्चिमको शैक्षिक क्षेत्रका सम्भावना र चुनौतीबारे छलफल गरिने आयोजकले जनाएको छ।

शिक्षक, शिक्षाविद् तथा शिक्षा क्षेत्रका सरोकारवालाबीच ज्ञान, अनुभव र नयाँ अभ्यास आदानप्रदान गर्ने उद्देश्यले आयोजना हुन लागेको सम्मेलनले प्रदेशको शैक्षिक क्षेत्रमा नयाँ बहस र सहकार्यको वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।
APEN कैलाली र कञ्चनपुरको सहभागिताले विशेषगरी प्रारम्भिक बालशिक्षा तथा विद्यालय शिक्षासँग सम्बन्धित विषयमा अनुभव आदानप्रदान र व्यावसायिक सहकार्यलाई थप बल पुग्ने आयोजकको विश्वास छ।