Oct 05 2026 | २०८३, आश्विन १९ गते

‘प्रारम्भिक बालशिक्षा तथा नीतिगत खाका’ विषयक विचारगोष्ठी सम्पन्न

‘प्रारम्भिक बालशिक्षा तथा नीतिगत खाका’ विषयक विचारगोष्ठी सम्पन्न

  • 104
    SHARES

  • ‘प्रारम्भिक बालशिक्षा तथा नीतिगत खाका’ विषयक विचारगोष्ठी सम्पन्न

    काठमाडौँ । प्रारम्भिक बालशिक्षाको गुणस्तर सुधार, शिक्षकको व्यावसायिक विकास तथा बालबालिकाको सहज सिकाइ संक्रमणलाई नीतिगत रूपमा सम्बोधन गर्ने उद्देश्यले ‘प्रारम्भिक बालशिक्षा तथा नीतिगत खाका’ (SYMPOSIUM ON EARLY GRADE EDUCATION AND POLICY FRAME WORK) विषयक विचारगोष्ठी सम्पन्न भएको छ।

    एसोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (APEN) को आयोजनामा भएको कार्यक्रममा प्रारम्भिक बालशिक्षालाई प्रभावकारी र व्यवस्थित बनाउन नीति निर्माण गर्दा तथ्य, वैज्ञानिक प्रमाण तथा धरातलीय यथार्थलाई आधार बनाउनुपर्नेमा सरोकारवालाले जोड दिए।

    IMG-20261004-WA0044.jpg

    कार्यक्रममा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सभापति डा. ओजस्वी शेरचनले शिक्षासम्बन्धी नीति भावनामा नभई तथ्य र प्रमाणका आधारमा निर्माण गर्नुपर्ने बताइन्। नीति बनाएर मात्र नहुने भन्दै उनले प्रभावकारी कार्यान्वयन, स्पष्ट जिम्मेवारी र नियमित अनुगमन आवश्यक रहेकोमा जोड दिइन्।

    उनले शिक्षा नीति एक–दुई वर्षलाई लक्षित गरेर नभई आगामी १०, १५ र २० वर्षलाई ध्यानमा राखेर दीर्घकालीन दृष्टिकोणसहित निर्माण गर्नुपर्ने बताइन्। कक्षाकोठा र समुदायमा प्रत्यक्ष काम गरिरहेका शिक्षक तथा शिक्षाकर्मीको अनुभवलाई समेत नीति निर्माणमा समेट्नुपर्ने उनको भनाइ थियो।

    IMG-20261004-WA0049.jpg

    प्रारम्भिक उमेरमा बालबालिकाको संज्ञानात्मक, सामाजिक, सञ्चार, संवेदी तथा मोटर सीपको आधार तयार हुने भएकाले प्रारम्भिक बालशिक्षालाई विद्यालय प्रवेशपूर्वको सामान्य तयारीका रूपमा मात्र लिन नहुने उनले बताइन्। प्रारम्भिक बालशिक्षाको अवधि, पाठ्यक्रम र सिकाइ पद्धतिसम्बन्धी निर्णय वैज्ञानिक अध्ययन र प्रमाणका आधारमा गर्नुपर्ने उनको धारणा थियो।

    IMG-20261005-WA0009.jpg

    कार्यक्रममा भएको प्यानल डिस्कसनमा माननीय रञ्जु दर्शना, माननीय गुरुराज घिमिरे, शिक्षा अभियन्ता अभिषेक घिमिरे र APEN का अध्यक्ष कृष्ण भण्डारी सहभागी थिए।

    20261004_165715~2.jpg

    प्यानल छलफलमा प्रारम्भिक बालशिक्षाको वर्तमान अवस्था, नीतिगत स्पष्टता, बालकेन्द्रित तथा खेलमा आधारित सिकाइ, शिक्षकको व्यावसायिक विकास, लगानी तथा संघ, प्रदेश र स्थानीय तहको भूमिकालगायत विषयमा छलफल गरिएको थियो।

    रञ्जु दर्शनाले प्रारम्भिक बालशिक्षालाई बालबालिकाको भविष्य निर्माणको आधारका रूपमा लिएर नीति तथा कार्यक्रम बनाउनुपर्ने धारणा राखिन्। उनले बालबालिका, अभिभावक र समुदायको आवश्यकता तथा अनुभवलाई नीतिगत प्रक्रियामा समेट्नुपर्नेमा जोड दिइन्।

    IMG-20261005-WA0010.jpg

    गुरुराज घिमिरेले प्रारम्भिक शिक्षासम्बन्धी नीतिलाई समग्र शिक्षा सुधारसँग जोडेर अघि बढाउनुपर्ने धारणा राखे। नीति निर्माणसँगै त्यसको प्रभावकारी कार्यान्वयनका लागि राज्यका तीनै तहबीच जिम्मेवारी र समन्वय स्पष्ट हुनुपर्ने विषय उनले उठाए।

    IMG-20261005-WA0005.jpg

    शिक्षा अभियन्ता अभिषेक घिमिरेले प्रारम्भिक तहमा बालमैत्री र व्यवहारिक सिकाइलाई प्राथमिकता दिँदै शिक्षक तथा सहजकर्ताको क्षमता विकासमा लगानी बढाउनुपर्ने बताए। प्रारम्भिक शिक्षाको नीति बनाउँदा व्यवहारिक अनुभव र प्रमाणमा आधारित दृष्टिकोण आवश्यक रहेको उनको जोड थियो।

    IMG-20261005-WA0014.jpg

    APEN अध्यक्ष कृष्ण कुमार बोहोरा प्रारम्भिक बालशिक्षासँग प्रत्यक्ष रूपमा जोडिएका शिक्षक, सहजकर्ता, विद्यालय तथा शिक्षाकर्मीका अनुभवलाई नीतिगत तहसम्म पुर्‍याउने उद्देश्यले विचारगोष्ठी आयोजना गरिएको बताए। प्रारम्भिक बालशिक्षाको स्पष्ट नीतिगत आधार र गुणस्तरीय शिक्षाका लागि APEN ले सरोकारवालाबीच निरन्तर बहस गर्दै जाने उनको भनाइ थियो।

    कार्यक्रममा पूर्व राष्ट्रिय परीक्षा बोर्ड अध्यक्ष महाश्रम शर्मा, APEN का पूर्व अध्यक्ष बद्री दाहाल र शिक्षा अभियन्ता अभिषेक घिमिरेले विभिन्न विषयमा पेपर प्रेजेन्टेसन गरेका थिए। प्रस्तुतिमा प्रारम्भिक बालशिक्षाको अवस्था, गुणस्तरीय सिकाइ, शिक्षकको क्षमता विकास तथा नीतिगत सुधारका विषय समेटिएका थिए।

    IMG-20261005-WA0013~2.jpg

    कार्यक्रममा मिनाक्षी दाहालले समीक्षात्मक टिप्पणी गर्दै प्रारम्भिक बालशिक्षाको नीति निर्माण गर्दा बालबालिकाको वास्तविक आवश्यकता, स्थानीय परिवेश र कार्यान्वयनको सम्भाव्यतालाई केन्द्रमा राख्नुपर्ने बताइन्।

    IMG-20261005-WA0018.jpg

    विचारगोष्ठीमा प्रारम्भिक बालशिक्षाको वर्तमान अवस्था, नीतिगत व्यवस्था, पाठ्यक्रम, शिक्षक तथा सहजकर्ताको क्षमता विकास, लगानी, अनुगमन तथा तीन तहका सरकारको भूमिकालगायत विषयमा छलफल भएको थियो।

    शिक्षा ऐन तथा नीतिगत पुनर्संरचनाको महत्वपूर्ण चरणमा सम्पन्न विचारगोष्ठीले प्रारम्भिक शिक्षा तयारीको चरण मात्र नभई समग्र शिक्षा प्रणालीको बलियो जग भएको निष्कर्षसहित त्यसलाई राज्यको दीर्घकालीन प्राथमिकतामा राख्नुपर्ने सन्देश दिएको छ।

    IMG-20261005-WA0016~2.jpg

    उक्त कार्यक्रम सञ्चालन अपेनका महासचिव सम्झना बस्नेतले संचालन गरेकी थिइन्। भने कार्यक्रममा अपेनका पदाधिकारी तथा विभिन्न मन्टेस्वरी तथा स्कुलका प्रिन्सिपल तथा संचलकहरुको सहभागी रहेको थियो।

    IMG-20261005-WA0012.jpg

    images
    सोमवार, आश्विन १९ २०८३०८:५७:४५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार