Oct 09 2026 | २०८३, आश्विन २३ गते

पानको तेस्रो राष्ट्रिय प्रधानाध्यापक सम्मेलन: सातै प्रदेशका उत्कृष्ट विद्यालय, प्रअ र पालिका सम्मानित हुने

पानको तेस्रो राष्ट्रिय प्रधानाध्यापक सम्मेलन: सातै प्रदेशका उत्कृष्ट विद्यालय, प्रअ र पालिका सम्मानित हुने

  • 56
    SHARES

  • पानको तेस्रो राष्ट्रिय प्रधानाध्यापक सम्मेलन: सातै प्रदेशका उत्कृष्ट विद्यालय, प्रअ र पालिका सम्मानित हुने

    काठमाडौं । प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पान) ले तेस्रो राष्ट्रिय प्रधानाध्यापक सम्मेलन–२०८३ को अवसरमा सातै प्रदेशका उत्कृष्ट सामुदायिक विद्यालय, प्रधानाध्यापक र स्थानीय तहलाई सम्मान गर्ने भएको छ। पानले विभिन्न विधामा प्रदान गरिने राष्ट्रिय पुरस्कार तथा सम्मानका लागि छनोट भएका विद्यालय, प्रधानाध्यापक, गाउँपालिका, नगरपालिका, शिक्षाविद् तथा शिक्षा पत्रकारहरूको नाम सार्वजनिक गरेको हो।

    विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि, नेतृत्व क्षमता विकास, नवप्रवर्तन, उत्तरदायित्व र उत्कृष्ट शैक्षिक अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार तथा सम्मान प्रदान गर्न लागिएको पानले जनाएको छ। पुरस्कार छनोट प्रक्रियालाई स्वतन्त्र, निष्पक्ष, पारदर्शी र वस्तुगत बनाउन शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय पुरस्कार छनोट समिति गठन गरिएको थियो।

    पानले माध्यमिक र आधारभूत तहका सामुदायिक विद्यालय तथा तिनका प्रधानाध्यापकलाई सातै प्रदेशबाट छनोट गरेको छ। त्यसैगरी शैक्षिक सुधार, पूर्वाधार विकास र व्यवस्थापनमा उल्लेखनीय कार्य गर्ने स्थानीय तहलाई पनि सम्मान गरिने भएको छ। उत्कृष्ट महानगरपालिका, शिक्षा पत्रकारिता र राष्ट्रिय शिक्षा उत्कृष्टता विधामा समेत पुरस्कार प्रदान गरिनेछ।

    माध्यमिक तहमा सात प्रदेशका विद्यालय र प्रधानाध्यापक छनोट

    माध्यमिक तहतर्फ कोशी प्रदेशबाट पाँचथरको फिदिम माध्यमिक विद्यालय उत्कृष्ट विद्यालयका रूपमा छनोट भएको छ। सोही प्रदेशबाट सुनसरीको धरानस्थित श्री पब्लिक माध्यमिक विद्यालयका प्रधानाध्यापक डा. ईन्द्रमोहन झा उत्कृष्ट प्रधानाध्यापक घोषित भएका छन्।

    मधेश प्रदेशबाट धनुषाको विदेह नगरपालिकास्थित श्री जनता नमुना माध्यमिक विद्यालय उत्कृष्ट विद्यालय बनेको छ। सप्तरीको चन्दा नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक गौरीशङ्कर चौधरी उत्कृष्ट प्रधानाध्यापकका रूपमा छनोट भएका छन्।

    बागमती प्रदेशबाट मकवानपुरको हेटौँडास्थित जनप्रिय माध्यमिक विद्यालय उत्कृष्ट विद्यालय घोषित भएको छ। रामेछापको इहु माध्यमिक विद्यालयका प्रधानाध्यापक दलबहादुर बल उत्कृष्ट प्रधानाध्यापकका रूपमा छनोट भएका छन्।

    गण्डकी प्रदेशबाट तनहुँको दुलेगौँडास्थित पञ्चदेवमुनी माध्यमिक विद्यालय उत्कृष्ट विद्यालय बनेको छ। म्याग्दीको दानास्थित ज्ञानप्रकाश माध्यमिक विद्यालयकी प्रधानाध्यापक शान्त नेपाली उत्कृष्ट प्रधानाध्यापक घोषित भएकी छन्।

    लुम्बिनी प्रदेशबाट गुल्मीको तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालय उत्कृष्ट विद्यालयका रूपमा छनोट भएको छ। पाल्पाको दमकडा नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटा उत्कृष्ट प्रधानाध्यापक घोषित भएका छन्।

    कर्णाली प्रदेशबाट सुर्खेतको त्रिपुरेश्वर माध्यमिक विद्यालय उत्कृष्ट विद्यालय बनेको छ। मुगुको गमगढीस्थित महाकाली नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक खडक रोकाया उत्कृष्ट प्रधानाध्यापकका रूपमा छनोट भएका छन्।

    सुदूरपश्चिम प्रदेशबाट दार्चुलाको धापस्थित मालिकार्जुन माध्यमिक विद्यालय उत्कृष्ट विद्यालय घोषित भएको छ। कैलालीको धनगढी माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मणदत्त भट्ट उत्कृष्ट प्रधानाध्यापकका रूपमा छनोट भएका छन्।

    आधारभूत तहमा पनि सातै प्रदेशका विद्यालय र प्रअ सम्मानित हुँदै

    आधारभूत तहतर्फ कोशी प्रदेशबाट ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित मेवाराजा आधारभूत विद्यालय उत्कृष्ट विद्यालयका रूपमा छनोट भएको छ। विराटनगरस्थित श्री जनता बाल आधारभूत विद्यालयका प्रधानाध्यापक राजेशप्रसाद यादव उत्कृष्ट प्रधानाध्यापक घोषित भएका छन्।

    मधेश प्रदेशबाट पर्साको वीरगञ्ज महानगरपालिका–३२, टेढास्थित श्री मन मिश्र आधारभूत विद्यालय उत्कृष्ट विद्यालय बनेको छ। सिरहास्थित आधारभूत विद्यालयकी प्रधानाध्यापक प्रेमकुमारी यादव उत्कृष्ट प्रधानाध्यापकका रूपमा छनोट भएकी छन्।

    बागमती प्रदेशबाट चितवनको माडीस्थित श्री आधारभूत विद्यालय उत्कृष्ट विद्यालय घोषित भएको छ। काठमाडौंको बालुवाटारस्थित पञ्चकन्या आधारभूत विद्यालयकी प्रधानाध्यापक बिनिता रञ्जित उत्कृष्ट प्रधानाध्यापक बनेकी छन्।

    गण्डकी प्रदेशबाट नवलपुरको बेलहानीस्थित श्री सरस्वती आधारभूत विद्यालय उत्कृष्ट विद्यालयका रूपमा छनोट भएको छ। कास्कीको माछापुच्छ्रेस्थित मेघराज आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वमोहन पोखरेल उत्कृष्ट प्रधानाध्यापक घोषित भएका छन्।

    लुम्बिनी प्रदेशबाट कपिलवस्तुको बाणगंगास्थित सूर्योदय आधारभूत विद्यालय उत्कृष्ट विद्यालय बनेको छ। प्युठानको स्वर्गद्वारीस्थित जनता आधारभूत विद्यालयकी प्रधानाध्यापक गङ्गा शर्मा उत्कृष्ट प्रधानाध्यापकका रूपमा छनोट भएकी छन्।

    कर्णाली प्रदेशबाट हुम्लाको बलभद्र आधारभूत विद्यालय उत्कृष्ट विद्यालय घोषित भएको छ। डोल्पाको सल्लेरी आधारभूत विद्यालयकी प्रधानाध्यापक जानु गुरुङ उत्कृष्ट प्रधानाध्यापकका रूपमा छनोट भएकी छन्। सुदूरपश्चिम प्रदेशबाट बझाङको बालमन्दिर आधारभूत विद्यालय उत्कृष्ट विद्यालय बनेको छ। बैतडीको पञ्चदेव आधारभूत विद्यालयका प्रधानाध्यापक मानसिं ऐर उत्कृष्ट प्रधानाध्यापकका रूपमा छनोट भएका छन्।

    शिक्षा सुधारमा योगदान स्थानीय तह सम्मानित हुँदै

    पानले विद्यालय शिक्षाको सुधार, शैक्षिक पूर्वाधार विकास तथा व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने सातै प्रदेशका गाउँपालिका र नगरपालिकालाई पनि सम्मान गर्ने भएको छ। प्रत्येक प्रदेशबाट एक गाउँपालिका र एक नगरपालिका छनोट गरिएको छ।

    कोशी प्रदेशबाट उदयपुरको लिम्चुङबुङ गाउँपालिका र मोरङको सुन्दरहरैँचा नगरपालिका सम्मानित हुनेछन्। मधेश प्रदेशबाट धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका र सर्लाहीको बागमती नगरपालिका छनोट भएका छन्।

    बागमती प्रदेशबाट धादिङको बेनीघाट रोराङ गाउँपालिका र काठमाडौंको बुढानीलकण्ठ नगरपालिका सम्मानित हुनेछन्। गण्डकी प्रदेशबाट स्याङ्जाको फेदीखोला गाउँपालिका र नवलपुरको गैँडाकोट नगरपालिका छनोट भएका छन्।

    लुम्बिनी प्रदेशबाट गुल्मीको धुर्कोट गाउँपालिका र कपिलवस्तुको शिवराज नगरपालिका सम्मानका लागि छनोट भएका छन्। कर्णाली प्रदेशबाट रुकुम पश्चिमको सानीभेरी गाउँपालिका र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका सम्मानित हुनेछन्।

    त्यसैगरी सुदूरपश्चिम प्रदेशबाट अछामको तुर्माखाँद गाउँपालिका र कञ्चनपुरको बेदकोट नगरपालिका छनोट भएका छन्। यी स्थानीय तहलाई शैक्षिक विकास र व्यवस्थापनमा पुर्‍याएको योगदानका आधारमा सम्मान गर्न लागिएको हो।

    भरतपुर महानगरपालिका, दुई शिक्षा पत्रकार र वरिष्ठ शिक्षाविद् पनि सम्मानित हुने

    पानले अन्य विशिष्ट विधाका राष्ट्रिय पुरस्कारसमेत घोषणा गरेको छ। उत्कृष्ट महानगरपालिकाका रूपमा भरतपुर महानगरपालिका छनोट भएको छ। शिक्षा पत्रकारिता पुरस्कारबाट पत्रकार दिनेश गौतम र मणिका झा सम्मानित हुने भएका छन्।

    त्यसैगरी राष्ट्रिय शिक्षा उत्कृष्टता पुरस्कार वरिष्ठ शिक्षाविद् डा. सुरेश राज शर्मालाई प्रदान गरिनेछ। विद्यालय शिक्षाको विकास, शैक्षिक नेतृत्व र शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई प्रोत्साहन गर्ने उद्देश्यले यी पुरस्कार प्रदान गर्न लागिएको पानले जनाएको छ।

    पानले पुरस्कारका लागि छनोट भएका सम्पूर्ण विद्यालय, प्रधानाध्यापक, स्थानीय तहका जनप्रतिनिधि, शिक्षाविद् तथा सञ्चारकर्मीलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। तेस्रो राष्ट्रिय प्रधानाध्यापक सम्मेलन–२०८३ को विशेष समारोहमा सबै पुरस्कार तथा सम्मान हस्तान्तरण गरिनेछ।

    प्रधानाध्यापक विद्यालयको शैक्षिक नेतृत्व, शिक्षक व्यवस्थापन, विद्यार्थीको सिकाइ उपलब्धि र विद्यालयको समग्र सुधारमा महत्त्वपूर्ण भूमिकामा रहने भएकाले उत्कृष्ट प्रधानाध्यापकलाई राष्ट्रियस्तरमा पहिचान र सम्मान प्रदान गर्ने कार्यले विद्यालयहरूबीच सकारात्मक प्रतिस्पर्धा बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। त्यस्तै, उत्कृष्ट विद्यालय र स्थानीय तहको छनोटले प्रभावकारी शैक्षिक अभ्यासको पहिचान तथा विस्तारमा योगदान पुर्‍याउने विश्वास पानले लिएको छ।

    FB_IMG_1791562991354.jpgFB_IMG_1791562992904.jpgFB_IMG_1791562994311.jpgFB_IMG_1791562995692.jpg

    images
    शुक्रवार, आश्विन २३ २०८३१०:२६:११

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार