आइतवार, आश्विन २५ २०८३
काठमाडौं, २३ असोज। काठमाडौंस्थित बर्नहार्ट स्कुलमा विद्यार्थीहरूले विज्ञान तथा प्रविधिसम्बन्धी विभिन्न परियोजना प्रदर्शन गरेका छन्। विद्यालयको के.बी.सी. हलमा आयोजित विज्ञान प्रदर्शनीसँगै विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रमसमेत सम्पन्न भएको छ।

विद्यार्थीमा वैज्ञानिक सोच, सिर्जनशीलता र व्यावहारिक ज्ञानको विकास गर्ने उद्देश्यले आयोजित प्रदर्शनीमा विभिन्न कक्षाका विद्यार्थीहरूले आफूले तयार पारेका विज्ञान तथा प्रविधिसम्बन्धी नमुना प्रस्तुत गरेका थिए। प्रदर्शनीमा ज्वालामुखी विस्फोटन (Volcano Eruption), रकेट मोडल (Rocket Model), कुकी जार अलार्म (Cookie Jar Alarm), फोर ह्वील ड्राइभ रोबोट कार (4-Wheel Drive Robot Car) लगायतका परियोजना राखिएका थिए।

त्यसैगरी, स्वच्छ र प्रदूषित सहरको नमुना (Clean and Polluted City Model) समेत प्रदर्शनीमा राखिएको थियो। विद्यार्थीहरूले प्रयोगात्मक विधिबाट तयार पारेका यी परियोजनाले उनीहरूको वैज्ञानिक बुझाइ, नवीन सोच र प्रविधिको प्रयोग गर्ने सीपलाई उजागर गरेका थिए।
प्रदर्शनीको विद्यालयका अध्यक्ष भूपेश छत्कुली, प्रबन्ध निर्देशक डा. नवराज अधिकारी, कार्यकारी निर्देशक तथा प्रिन्सिपल पुरुषोत्तम विष्ट, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूले अवलोकन गरेका थिए।

कार्यक्रममा विद्यालयका उपप्रधानाध्यापक शिवराम रिजालले विद्यालयमा सञ्चालन भइरहेका अतिरिक्त क्रियाकलाप (ECA), नियमित पठनपाठन तथा सिकाइ गतिविधिबारे जानकारी गराएका थिए। उनले प्रदर्शनीमा सहभागी विद्यार्थी तथा शिक्षकहरूको मेहनतको प्रशंसा गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने विद्यालय व्यवस्थापन तथा प्रशासनप्रति आभार व्यक्त गरेका थिए।
त्यसैगरी, प्रिन्सिपल पुरुषोत्तम विष्टले प्रयोगात्मक ज्ञान र व्यावहारिक सिकाइलाई प्रभावकारी बनाउन विज्ञान प्रदर्शनीजस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताए। विद्यार्थीहरूले आफ्नै मेहनत, सिर्जनशीलता र सीप प्रयोग गरेर तयार पारेका परियोजना प्रशंसनीय रहेको उल्लेख गर्दै उनले यस्ता गतिविधिले विद्यार्थीको सिकाइलाई थप प्रभावकारी बनाउने धारणा व्यक्त गरेका थिए।
विज्ञान प्रदर्शनीसँगै आयोजित विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रमले विद्यार्थीलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै विद्यालयमा चाडपर्वको उल्लास र आपसी सद्भावसमेत अभिवृद्धि गरेको थियो। यस्ता शैक्षिक तथा अतिरिक्त क्रियाकलापले विद्यार्थीको सिर्जनशीलता, व्यावहारिक सीप र सर्वाङ्गीण विकासमा सहयोग पुग्ने विद्यालयले जनाएको छ।