Nov 20 2026 | २०८३, मंसिर ५ गते

विद्यालय शिक्षा ऐन र पाठ्यक्रम सुधारबारे गण्डकीमा शिक्षा संवाद सम्पन्न

विद्यालय शिक्षा ऐन र पाठ्यक्रम सुधारबारे गण्डकीमा शिक्षा संवाद सम्पन्न

  • 428
    SHARES

  • विद्यालय शिक्षा ऐन र पाठ्यक्रम सुधारबारे गण्डकीमा शिक्षा संवाद सम्पन्न

    पोखरा, २७ असोज । प्रस्तावित विद्यालय शिक्षा ऐन निर्माण र पाठ्यक्रम परिमार्जनलाई व्यावहारिक, समयसापेक्ष तथा विद्यार्थीकेन्द्रित बनाउने विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले गण्डकी प्रदेशका शिक्षा क्षेत्रका सरोकारवालासँग संवाद गरेको छ।

    मन्त्रालयद्वारा आयोजित ‘शिक्षा संवाद–भाग २’ अन्तर्गत गण्डकी प्रदेशस्तरीय छलफल मंगलबार बिहान १०ः३० बजे पोखरामा सम्पन्न भएको हो। कार्यक्रमको व्यवस्थापन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) गण्डकी प्रदेश र प्याब्सन कास्कीले गरेका थिए।

    20261013_112741~2.jpg

    शिक्षा मन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाको प्रमुख आतिथ्यमा सम्पन्न संवादमा मन्त्रालयका राजनीतिक सल्लाहकार सरोज गौतम, हिसानका केन्द्रीय अध्यक्ष युवराज शर्मा, प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्ण अधिकारी, गण्डकी विश्वविद्यालयका उपकुलपति कृष्ण अधिकारी, एन-प्याब्सनका महासचिव प्रकाश खड्का तथा शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्य प्यानलिस्टका रूपमा सहभागी थिए।

    कार्यक्रममा विद्यालय शिक्षा ऐनमा समेट्नुपर्ने विषय, पाठ्यक्रम परिमार्जनको आवश्यकता, विद्यार्थीको सिकाइ उपलब्धि सुधार तथा सार्वजनिक र निजी विद्यालयबीचको सहकार्यलगायतका विषयमा छलफल भएको थियो। शिक्षा प्रणालीलाई समयको आवश्यकता र कक्षाकोठाको वास्तविकतासँग जोड्न नीतिगत सुधार आवश्यक रहेको विषयमा सरोकारवालाले आ–आफ्ना धारणा तथा सुझाव प्रस्तुत गरेका थिए।

    विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न पाठ्यक्रमलाई व्यावहारिक बनाउने, विद्यार्थीमा ज्ञानसँगै सीप र सिर्जनशीलताको विकास गर्ने तथा शिक्षण सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउने विषय पनि छलफलका महत्वपूर्ण पक्ष थिए। प्रस्तावित विद्यालय शिक्षा ऐनले विद्यालय सञ्चालनका व्यावहारिक समस्या र विद्यार्थीको आवश्यकतालाई सम्बोधन गर्नुपर्ने विषयमा समेत विचारविमर्श भएको थियो।

    मन्त्रालयले शिक्षक, विद्यालय सञ्चालक, शिक्षाविद्, स्थानीय तह तथा अन्य सरोकारवालासँग प्रत्यक्ष संवाद गरी प्राप्त सुझावलाई ऐन निर्माण र पाठ्यक्रम सुधारको प्रक्रियामा समेट्ने उद्देश्य राखेको छ।

    शिक्षा क्षेत्रका विभिन्न पक्षको अनुभव र सुझावका आधारमा नीतिगत सुधारलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित संवादबाट विद्यालय शिक्षा प्रणालीलाई गुणस्तरीय, समावेशी, सिर्जनशील र समयसापेक्ष बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    images
    मंगलवार, आश्विन २७ २०८३०६:३४:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार