मंगलवार, कार्तिक ११ २०८३
काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८४ मा सहभागी हुने विद्यार्थीका लागि रजिस्ट्रेसन फाराम भर्ने समयावधि तोकेको छ।
कार्यालयले मंगलबार सूचना जारी गर्दै शैक्षिक सत्र २०८३ मा कक्षा ९ मा साधारण, परम्परागत (संस्कृत, वेदविद्याश्रम, गुरुकुल, मदर्सा तथा गोन्पा) र प्राविधिक धारतर्फ नियमित अध्ययनरत विद्यार्थीले एसईई २०८४ का लागि रजिस्ट्रेसन फाराम भर्नुपर्ने जनाएको हो।
कार्यालयका अनुसार रजिस्ट्रेसन फाराम २०८३ कात्तिक ९ गतेदेखि मङ्सिर १३ गतेसम्म भर्न तथा भराउन सकिनेछ। विद्यालयहरूले IEMIS मा लगइन गरी ‘Manage Exam’ अन्तर्गत ‘Registration Form’ मा गएर वर्ष २०८३ र कक्षा ९ छनोट गरी विद्यार्थीको विवरण लोड गर्नुपर्नेछ। त्यसपछि जन्मदर्ताको प्रमाणपत्रअनुसार विद्यार्थीको नाम, थर, जन्ममिति लगायतका विवरण विद्यार्थी तथा अभिभावकबाट रुजु गराई हस्ताक्षर गराएर फाराम विद्यालयमा संकलन गर्नुपर्नेछ।
फाराममा विवरण सच्याउनुपर्ने भए विद्यालयले सम्बन्धित स्थानीय तहको शिक्षा शाखा वा महाशाखासँग समन्वय गरी IEMIS मा विवरण संशोधन गर्नुपर्ने व्यवस्था गरिएको छ। विद्यालयले विद्यार्थीको रजिस्ट्रेसन फारामसँगै जन्मदर्ताको प्रमाणपत्र र कक्षा ८ को ग्रेडसिटको प्रधानाध्यापकबाट प्रमाणित प्रतिलिपि संलग्न गरी शिक्षा विकास तथा समन्वय एकाइमा पेस गर्नुपर्नेछ।
एसईई २०८४ का लागि रजिस्ट्रेसन फाराम भर्ने विद्यार्थीबाट प्रतिविद्यार्थी ३०० रुपैयाँ शुल्क लिनुपर्नेछ। उक्त रकम राजस्व शीर्षक नं. १४२२३ मा २०८३ मङ्सिर १८ गतेभित्र दाखिला गर्नुपर्नेछ।
शिक्षा विकास तथा समन्वय एकाइले विद्यालयबाट प्राप्त समष्टिगत फाराम र विद्यार्थीको रजिस्ट्रेसन फाराम रुजु गरी राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को समन्वयमा रजिस्ट्रेसन नम्बर कायम गर्नेछ।
रजिस्ट्रेसन नम्बर कायम भएपछि एकाइले समष्टिगत फाराम प्रिन्ट गरी विद्यालयलाई उपलब्ध गराउनेछ। विद्यालयले विद्यार्थीको विद्यालय पोसाकमा खिचिएको पासपोर्ट साइजको फोटो निर्धारित स्थानमा टाँस गरी विद्यार्थी र प्रधानाध्यापकको सहीछापसहित प्रमाणित गराएर एकाइमा पेस गर्नुपर्नेछ।
यसैगरी, विद्यालयहरूले संकलन गरेको रजिस्ट्रेसन शुल्क मङ्सिर १८ गतेभित्र राजस्व दाखिला गरी विद्यार्थी संख्या र राजस्वको विवरण मङ्सिर मसान्तभित्र परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा पठाइसक्नुपर्नेछ।
विदेशी तथा खुला शिक्षातर्फका विद्यार्थीका लागि छुट्टै व्यवस्था नेपालमा कक्षा १० मा अध्ययनरत विदेशी विद्यार्थी तथा अनौपचारिक र खुला शैक्षिक कार्यक्रमतर्फ कक्षा १० मा अध्ययन गरिरहेका विद्यार्थीको हकमा भने विद्यालयले IEMIS मा वर्ष २०८३ र कक्षा १० छनोट गरी रजिस्ट्रेसन फाराम लोड गर्नुपर्ने व्यवस्था गरिएको छ।
