शनिवार, कार्तिक १५ २०८३
१४ कात्तिक, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शिक्षक तथा कर्मचारीको व्यावसायिक दक्षता अभिवृद्धि गर्न १ करोड २५ लाख रुपैयाँ बजेट स्वीकृत गरेको छ। विश्वविद्यालयको जनशक्ति विकास तथा कल्याण परिषद्को वार्षिक बैठकले आर्थिक वर्ष २०८३/०८४ का लागि विभिन्न नौ शीर्षकमा ७७५ शिक्षक तथा कर्मचारीलाई सेवाकालीन र सेवा प्रवेश तालिम सञ्चालन गर्ने कार्यक्रम पारित गरेको हो।
कीर्तिपुरस्थित त्रिभुवन स्मृति भवनको सभाकक्षमा शिक्षाध्यक्ष प्रा.डा. अञ्जना सिंहको अध्यक्षतामा बसेको बैठकले विश्वविद्यालयको जनशक्तिलाई समयानुकूल दक्ष, प्रतिस्पर्धी र उत्पादनशील बनाउने उद्देश्यसहित वार्षिक कार्यक्रम तथा बजेट स्वीकृत गरेको हो।
स्वीकृत कार्यक्रमअन्तर्गत त्रिवि सेवामा प्रवेश गर्ने शिक्षक तथा कर्मचारीलाई विश्वविद्यालयको संगठनात्मक संरचना, कार्यप्रणाली, आचारसंहिता, अधिकार र कर्तव्यबारे अभिमुखीकरण गरिनेछ। त्यस्तै, प्रशासनिक कर्मचारीका लागि आवश्यकता पहिचानमा आधारित क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिनेछ।
यसैगरी, पदाधिकारी, क्याम्पस प्रमुख, विभागीय प्रमुख तथा प्रशासनिक नेतृत्वको व्यवस्थापकीय क्षमता विकास, कृत्रिम बुद्धिमत्ता (एआई), सूचना प्रविधि प्रणाली र कार्यालय सञ्चालनसम्बन्धी दक्षता अभिवृद्धिलाई पनि तालिमको प्राथमिकतामा राखिएको छ।
बैठकमा परिषद्का अध्यक्षसमेत रहेकी शिक्षाध्यक्ष प्रा.डा. सिंहले विश्वविद्यालयका शिक्षक तथा कर्मचारीलाई थप दक्ष र प्रभावकारी बनाउँदै संस्थागत उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिइन्।
त्यसैगरी, त्रिविका रजिस्ट्रार डा. रविन्द्र शिवाकोटीले विश्वविद्यालयको जनशक्तिलाई प्रतिस्पर्धी र गुणस्तरीय बनाउन आवश्यक स्रोत तथा साधनको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे।
त्रिवि समन्वय महाशाखाका प्रमुख तथा परिषद्का सदस्यसचिव दीपक तिवारीले ‘दक्ष जनशक्ति, सक्षम कार्यालय, गुणस्तरीय सेवा, प्रतिस्पर्धी एवं उत्कृष्ट विश्वविद्यालय’ भन्ने मूल भावनाका साथ वर्षैभरि तालिम, कार्यशाला र गोष्ठी सञ्चालन गरिने जानकारी दिए।
उनका अनुसार सुशासन, कार्यालय व्यवस्थापन, समयानुकूल वृत्ति विकास र उपलब्ध स्रोतसाधनको अधिकतम सदुपयोगमार्फत शिक्षक तथा कर्मचारीको कार्यक्षमता र उत्पादकत्व बढाउने लक्ष्य राखिएको छ।
बैठकमा विभिन्न अध्ययन संस्थानका डिन, क्याम्पस प्रमुख तथा महाशाखा प्रमुखलगायतको उपस्थिति रहेको थियो।