आइतवार, कार्तिक १६ २०८३
काठमाडौं, कात्तिक १४ । राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालले शिक्षा क्षेत्रमा समयसापेक्ष नीति, पर्याप्त बजेट, दक्ष जनशक्ति र प्रविधिको प्रभावकारी उपयोग गर्न सरकार गम्भीर बन्नुपर्ने बताउनु भएको छ।
पूर्व विद्यार्थी समाज कालीनाग माध्यमिक विद्यालय, सुनखानी, दोलखाद्वारा आयोजित पूर्व विद्यार्थी दर्पण–२०८३ स्मारिका लोकार्पण तथा सम्मान कार्यक्रममा सम्बोधन गर्दै सम्माननीय अध्यक्ष दाहालले शिक्षालाई विकास, समृद्धि र सशक्तीकरणको आधारस्तम्भका रूपमा अघि बढाउनु पर्ने बताउनु भएको हो।

उहाँले ग्रामीण तथा सामुदायिक विद्यालयका विद्यार्थीले समेत आधुनिक ज्ञानमा पहुँच प्राप्त गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवसरमा प्रतिस्पर्धा गर्न सक्ने वातावरण निर्माण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभएको छ।
गुणस्तरीय, समावेशी, प्रविधिमैत्री, व्यावहारिक र जीवनोपयोगी शिक्षालाई प्राथमिकता दिनु आवश्यक छ। ग्रामीण तथा सामुदायिक विद्यालयका विद्यार्थीले पनि आफ्नो प्रतिभा प्रस्फुटन गर्न, आधुनिक ज्ञानमा पहुँच प्राप्त गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवसरमा प्रतिस्पर्धा गर्न सक्ने वातावरण निर्माण गर्नु हाम्रो साझा दायित्व हो। “हाम्रा विद्यालयहरूले गुणस्तरीय, समावेशी, प्रविधिमैत्री, व्यावहारिक र जीवनोपयोगी शिक्षालाई प्राथमिकता दिनु आवश्यक छ।”
शिक्षा क्षेत्रमा सरकारले दिएको ध्यान अझै पर्याप्त हुन नसकेको उल्लेख गर्दै उहाँले समयसापेक्ष शिक्षा नीति निर्माणसँगै आवश्यक बजेट र दक्ष जनशक्तिको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो। विदेशिन बाध्य नेपाली शैक्षिक जनशक्तिलाई स्वदेशकै शैक्षिक उन्नयनमा उपयोग गर्ने दिशामा समेत ध्यान दिन उहाँले सम्बन्धित सरोकारवालासँग आग्रह गर्नुभयो।
उहाँले लामो समयदेखि नयाँ शिक्षा ऐन बन्न नसकेकोप्रति समेत चिन्ता व्यक्त गर्नुभएको छ। “हामी अझैँ पनि पुरानै शिक्षा ऐन, भूमि ऐन, वन ऐनजस्ता दर्जनौँ पञ्चायतकालीन ऐनबाट निर्देशित हुन परिरहेको छ।”
अघिल्लो कार्यकालमा प्रतिनिधि सभा आकस्मिक रूपमा विघटन हुँदा विद्यालय शिक्षा विधेयकलगायत थुप्रै विधेयक निष्क्रिय हुन पुगेको स्मरण गर्दै अध्यक्ष दाहालले शिक्षासँग सम्बन्धित विधेयक संसद्मा आएमा सरोकारवालासँग आवश्यक छलफल गरी अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
पूर्व विद्यार्थी समाजले विद्यालयको विकासमा पुर्याएको योगदानको प्रशंसा गर्दै उहाँले विद्यालयको दीर्घकालीन विकासका लागि योजनाबद्ध, पारदर्शी र निरन्तर सहकार्य आवश्यक रहेको बताउनुभएको छ।
“विद्यालयको वास्तविक उचाइ त्यसको भौतिक संरचना वा औपचारिक उपलब्धिले मात्र निर्धारण गर्दैन, उक्त विद्यालयबाट दीक्षित भएका व्यक्तिहरूको ज्ञान, चरित्र, सामाजिक उत्तरदायित्व र राष्ट्रप्रतिको योगदानले पनि त्यसको प्रतिष्ठा निर्धारण गर्दछ।”
कार्यक्रममा विद्यालय तथा समाजका लागि विशिष्ट योगदान पुर्याउनुभएका विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सम्मानित व्यक्तित्वहरूको योगदान वर्तमान तथा भावी पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले उहाँहरूलाई बधाई तथा शुभकामना दिनुभएको थियो।