Nov 19 2026 | २०८३, मंसिर ४ गते

बाढीमा अभिभावक गुमाएका विद्यार्थीलाई उच्च शिक्षासम्म निःशुल्क छात्रवृत्ति दिन्छौँ : शिक्षामन्त्री पोखरेल

बाढीमा अभिभावक गुमाएका विद्यार्थीलाई उच्च शिक्षासम्म निःशुल्क छात्रवृत्ति दिन्छौँ : शिक्षामन्त्री पोखरेल

  • 491
    SHARES

  • बाढीमा अभिभावक गुमाएका विद्यार्थीलाई उच्च शिक्षासम्म निःशुल्क छात्रवृत्ति दिन्छौँ : शिक्षामन्त्री पोखरेल

    काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेलले गत भदौको विनाशकारी बाढीमा परी अभिभावक गुमाएका तथा बेपत्ता भएका व्यक्तिका सन्तानलाई उच्च शिक्षासम्म जुनसुकै विषयमा पूर्ण निःशुल्क छात्रवृत्ति उपलब्ध गराउने बताएका छन्।

    मन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्रीस्तरीय निर्णय गरी छात्रवृत्ति उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको जानकारी दिएका हुन्। उनले अभिभावक गुमाएका बालबालिकाको उज्ज्वल भविष्य र शिक्षाको निरन्तरताका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

    यसअघि स्वीकृत ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना सञ्चालन निर्देशिका, २०८३’ मार्फत विद्यालय तहमा निःशुल्क शिक्षा कार्यान्वयन भइरहेकोमा अब उक्त व्यवस्था उच्च शिक्षासम्म विस्तार गरिएको उनले बताएका छन्। मन्त्री पोखरेलका अनुसार पहिलो चरणमा पहिचान भएका २७ जना विद्यार्थीबाट छात्रवृत्ति कार्यक्रम सुरु गरिनेछ। बाँकी विद्यार्थीको पहिचान गर्दै क्रमशः चरणबद्ध रूपमा छात्रवृत्ति उपलब्ध गराइनेछ।

    विद्यालय तहका विद्यार्थीका लागि शिक्षा विभाग, स्थानीय तह र सम्बन्धित छाता संस्थाहरूसँग समन्वय गरी प्रक्रिया अघि बढाइने उनले बताएका छन्। उच्च शिक्षा अध्ययनरत विद्यार्थीका लागि भने विश्वविद्यालय अनुदान आयोगमार्फत नियमित छात्रवृत्ति कोटामा थप गरी अध्ययनको व्यवस्था मिलाइनेछ।

    ‘विपत्तिले खोसेको अभिभावकका सन्तानको सपना र भविष्यलाई ओझेलमा पर्न नदिन सरकार सदैव अभिभावक बनेर साथमा उभिनेछ,’ मन्त्री पोखरेलले फेसबुकमा लेखेका छन्।

    सरकारको यो निर्णयले बाढीका कारण अभिभावक गुमाएका बालबालिकाको विद्यालयदेखि उच्च शिक्षासम्मको अध्ययनलाई निरन्तरता दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    images
    शनिवार, कार्तिक २२ २०८३०६:२१:४३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार