Nov 19 2026 | २०८३, मंसिर ४ गते

कक्षाकोठा स्मार्ट बनाउने थाङपाल भ्यालीको अभियान, देउसी–भैलोबाट जुट्यो १७ लाख बढी रकम

कक्षाकोठा स्मार्ट बनाउने थाङपाल भ्यालीको अभियान, देउसी–भैलोबाट जुट्यो १७ लाख बढी रकम

  • 142
    SHARES

  • कक्षाकोठा स्मार्ट बनाउने थाङपाल भ्यालीको अभियान, देउसी–भैलोबाट जुट्यो १७ लाख बढी रकम

    सिन्धुपाल्चोक । चाडपर्वलाई विद्यालयको शैक्षिक विकाससँग जोड्दै सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ स्थित थाङपाल भ्याली माध्यमिक विद्यालयले कक्षाकोठा डिजिटल बनाउने अभियान अघि बढाएको छ। विद्यालयले देउसी–भैलो कार्यक्रमबाट १७ लाख रुपैयाँभन्दा बढी नगद तथा शैक्षिक सामग्री संकलन गरेको छ।

    ग्रामीण क्षेत्रका बालबालिकालाई आफ्नै गाउँमा आधुनिक, गुणस्तरीय र प्रविधिमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यालयले देउसी–भैलो कार्यक्रम आयोजना गरेको हो। अभियानबाट १० लाख ८१ हजार रुपैयाँ नगद र ६ लाख ४० हजार रुपैयाँ बराबरका स्मार्ट बोर्ड सामग्री सहयोग प्राप्त भएको विद्यालयले जनाएको छ।

    यसरी नगद तथा सामग्री गरी कुल १७ लाख २१ हजार रुपैयाँ बराबरको सहयोग जुटेको छ। दाताहरूबाट प्राप्त नगद सहयोग तथा प्रतिबद्धतासमेत जोड्दा कुल सहयोग १८ देखि १९ लाख रुपैयाँसम्म पुग्ने विद्यालयको अपेक्षा छ।

    विद्यालयमा हाल २४ वटा कक्षाकोठा रहेका छन्। विद्यालय व्यवस्थापन समिति र प्रशासनले सबै कक्षाकोठालाई क्रमशः स्मार्ट कक्षाकोठामा रूपान्तरण गर्ने योजना बनाएका छन्। अभियानको पहिलो चरणमा चालु आर्थिक वर्षभित्रै १० वटा स्मार्ट बोर्ड खरिद गरी शिक्षण सिकाइलाई डिजिटल प्रविधिसँग जोड्ने लक्ष्य राखिएको छ।

    तत्कालीन चारवटा विद्यालय श्री रैथाने माध्यमिक विद्यालय, चिसाउने माध्यमिक विद्यालय, ताल्तुलेश्वरी आधारभूत विद्यालय र सातकन्या आधारभूत विद्यालय एकीकृत भएपछि थाङपाल भ्याली माध्यमिक विद्यालय बनेको हो। मनेखर्क (रैथाने पोखरी नजिक) मा अवस्थित यस विद्यालयमा बागमती प्रदेशमै धेरै विद्यार्थी अध्ययन गर्ने विद्यालयमध्ये एकका रूपमा रहेको छ।

    विद्यालयको भौतिक पूर्वाधार पनि सुविधासम्पन्न छ। नेपालको ‘बिग स्कुल प्रोग्राम’ अन्तर्गत एसियाली विकास बैंकको सहयोगमा निर्मित पाँचवटा भवनबाट विद्यालय सञ्चालन भइरहेको छ। विद्यालय भवनको उद्घाटन तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन्।

    विद्यालयमा कम्प्युटर, विज्ञान तथा गणित प्रयोगशाला, पुस्तकालय, स्कुल बस र प्राथमिक स्वास्थ्य उपचारलगायतका सुविधा उपलब्ध छन्। अब विद्यालयले विद्यमान शैक्षिक पूर्वाधारमा डिजिटल प्रविधि थप्दै शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ।

    भौगोलिक रूपमा विकट क्षेत्रमा रहेर पनि प्रविधिमैत्री शिक्षाको पहुँच विस्तार गर्ने विद्यालयको यो अभियानले सामुदायिक सहभागिताबाट शैक्षिक रूपान्तरण सम्भव छ भन्ने सन्देश दिएको छ। देउसी–भैलोबाट संकलित रकमलाई मनोरञ्जनमा मात्र सीमित नराखी बालबालिकाको सिकाइ र भविष्य निर्माणमा लगानी गर्ने विद्यालयको प्रयास ग्रामीण शिक्षा विकासको उदाहरणीय पहल बनेको छ।

    images
    बुधवार, कार्तिक २६ २०८३०९:३०:५८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार