शनिवार, कार्तिक २९ २०८३
काठमाडौँ, कात्तिक २८ — काठमाडौँ महानगरपालिकाले विद्यालय तहका बालबालिकामा जलवायु परिवर्तनसम्बन्धी सचेतना अभिवृद्धि गर्न ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा १ मिनेटसम्मको भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ।
महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले एक सूचना जारी गर्दै आगामी मङ्सिर ७ गतेदेखि १३ गतेसम्म विभिन्न साझेदार संस्थाहरूसँगको सहकार्यमा सञ्चालन हुने ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’ का अवसरमा उक्त प्रतिस्पर्धा गर्न लागेको जानकारी दिएको हो। जलवायु परिवर्तनले पारिरहेको विश्वव्यापी असर घटाउन समुदायस्तरमा गर्न सकिने प्रयासहरूको प्रवर्द्धन गर्नु तथा क्षति न्यूनीकरणका लागि व्यक्ति र समुदायलाई जिम्मेवार बनाउनु सप्ताहको मुख्य उद्देश्य रहेको महानगरपालिकाले जनाएको छ।
सप्ताहअन्तर्गत बालबालिकालाई सिर्जनात्मक क्रियाकलापमा सहभागी गराउन कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीबीच भिडियो प्रतिस्पर्धा गराइनेछ। प्रतियोगितामा काठमाडौँ महानगरपालिकाका स्थायी बासिन्दाका बालबालिका तथा महानगरभित्रका सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाउन पाउनेछन्।
महानगरपालिकाका अनुसार प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
यस्तै, सान्त्वना स्वरूप ७ जनालाई जनही १० हजार रुपैयाँ प्रदान गरिने सूचनामा उल्लेख छ। प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यार्थीहरूले सूचनामा दिइएको क्युआर (QR) कोड स्क्यान गरी नाम दर्ता गर्न तथा थप जानकारी लिन सक्नेछन्।