आइतवार, भाद्र २० २०७८
भक्तपुर - कोभिड संक्रमणका कारण लामो समयदेखि विद्यालय सञ्चालन गर्न पाउ भन्दै भक्तपुरका शिक्षकले मेयरलाइ ज्ञापन पत्र बुझएका छन।
लामो समय बिद्यालय बन्द हुदा विद्यार्थीहरुको शिक्षण सिकाइमा नकारात्मक प्रभाव परेको भन्दै शिक्षकहरुले मेयरलाई ज्ञापन पत्र बुझाएका हुन् ।
आधारभूत विद्यालय समिति भक्तपुरले मेयर सुनिल प्रजापतिलाई शुक्रबार ज्ञापन पत्र बुझाउँदै विद्यालय खोल्नका लागि वातावरण बनाउन अनुरोध गरेका छन्। समितिका अध्यक्ष दिपक माकले ५ बुँदे मागसहित ज्ञापन पत्र बुझाउँदै धेरै विद्यार्थीहरु भएका विद्यालयहरुको हकमा चरणबद्ध रुपमा आलोपालो गरी कक्षा सञ्चालन गर्न दिनुपर्ने समेत माग गरे।
ज्ञापनपत्रमा उनले कक्षा ४ र ५ को स्थानीय पाठ्यक्रम सन्दर्भ सामाग्री यथासक्दो छिटो उपलब्ध गराउन, शिक्षकहरुको लागि प्रबोधीकरण सञ्चालन गर्न शैक्षिक वर्ष २०७८ मा लागू भएका कक्षा २ र ३ को एकीकृत पाठ्यक्रम र कक्षा ६ को नयाँ पाठ्यक्रमका सम्बन्ध अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न पनि अनुरोध गरेका छन्।
उनीहरुले आधारभूत विद्यालयहरुको स्थायित्व र विकासमा ध्यान दिनुपर्ने र सामुदायिक विद्यालयमा कार्यरत विद्यालय सहयोगीहरुको पारिश्रमिक वृद्धि गर्नुपर्नेलगायतका मागहरु अघि सारेका छन्।
ज्ञापनपत्र बझ्दै मेयर प्रजापतिले कोभिडका कारण भौतिक उपस्थितिमा विद्यालयहरुमा कक्षा संचालन चुनौतीपूर्ण भएको बताए । कोभिड जोखिमबीच विद्यालय सञ्चालन गर्ने विषयमा नगरका सामुदायिक र संस्थागत विद्यालयका प्रतिनिधिहरुसँग चरणबद्ध रुपमा छलफल चलाइरहेको जानकारी दिँदै उनले विद्यालय सञ्चालन गर्ने विषयमा शिक्षा मन्त्रालयले बनाएको विद्यालय सञ्चालनसम्बन्धी कार्ययोजनाअनुसार अगाडि बढ्ने तयारीमा लागिपरेको बताए।