शुक्रवार, माघ २१ २०७८
पर्वत - गण्डकी विश्वविद्यालयले स्थानिय स्तरमा उत्पादन हुने कोदोबाट उत्पादन हुने रक्सी (मदिरा)लाई ब्रान्डिङ गर्ने भएको छ ।
लोकल उत्पादन लाई ब्रान्डिङ गर्ने उदेश्यका साथ गण्डकी प्रदेशका विभिन्न जिल्लामा व्यावसायिक रुपमै उत्पादन हुने रक्सी (मदिरा) लाई कसरी ब्राण्डिङ गर्न लागेको हो।
विश्वविद्यालयले शिक्षा क्षेत्रका सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम गरी गण्डकी प्रदेश सरकारको पहिलो विश्वविद्यालयवाट सञ्चालित शैक्षिक कार्यक्रम, आगामी रणनीति र यस विश्वविद्यालय सञ्चालनका उद्देश्यका बारेमा छलफल गरिएको हो ।
बिश्वबिद्धालयले प्रदेश अन्तर्गतका पर्वत, कास्की, स्याङ्जा, लमजुङ र बागलुङ गरी पाँच जिल्लामा उत्पादित स्थानीय मदिरालाई ब्राण्डिङ गर्नेगरी अध्ययन सुरु गरिएको गण्डकी विश्वविद्यालयका रजिष्ट्रार कैलाश तिमिल्सिनाले जानकारी दिए ।
ब्राण्डिङ र गुणस्तर मापनको अभावमा घरेलु मदिरा उत्पादनमा प्रतिबन्द तथा उत्पादित मदिरासमेत खेर जाने तर विदेशी मदिरा आयातमा वृद्धि भइरहेको अवस्थामा यसलाई प्रतिस्थापन गरी स्वरोजगार सिर्जना गर्न र प्रदेशलाई आर्थिक समृद्धितर्फ लैजान नेपाली (लोकल) उत्पादनलाई ब्राण्डिङ गर्ने अवधारणा अघि सारिएको हो ।
रजिष्ट्रार तिमिल्सिनाले गण्डकी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको कार्ययोजना अनुरुप कोदोको रक्सीलाई ब्राण्डिङ गर्न थालिएको बताए ।
यसैगरी विगत केही वर्षदेखि सुन्तलामा कीरा लाग्दा पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जालगायतका जिल्लामा सुन्तला उत्पादनमा ह्रास आएको भन्दै यसको यसको समाधान गर्न सुन्तलामा कीरा लाग्ने विषयको समेत अध्ययन सुरु गरेको छ ।
बिश्वबिद्धालयले गरेको अन्तरक्रिया कार्यक्रमका अवसरमा बोल्दै गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङले गण्डकी प्रदेशमै दक्षजनशक्ति उत्पादन गर्नका लागि विश्वविद्यालय रचनात्मक सोचका साथ अघि बढेको बताए ।
अबको युगमा आवश्यक पर्ने व्यावहारिक शिक्षा प्रदान गर्नका लागि विश्व विद्यालय लागिपरेको छ । शिक्षाको गहिरो अध्ययनबिना जुनसुकै क्षेत्र पनि अपूरो हुने भएकाले यो विश्वविद्यालय सूचना प्रविधि, खेलकूद, चिकित्साविज्ञानलगायत कृषि, पर्यटन, ऊर्जालगायतका क्षेत्रका पढाइ सञ्चालन गर्ने भएको छ । पहिलो चरणमा स्नातक तहमा सूचना प्रविधिको कक्षा सञ्चालन गरिने भएको छ भने त्यसैगरी खेलकूद विभागको पढाइसमेत सञ्चालन गरिने उनले बताए ।
गण्डकी विश्व विद्यालयका रजिष्ट्रार कैलाश तिमिल्सिनाले विश्वविद्यालयका कार्यक्रमका बारेमा जानकारी दिए । विश्वविद्यालय सबैको पहुँचमा हुनुपर्छ भन्ने मान्यतलाई स्थापित गर्दै कृषि, पत्रकारिता, उद्यमशीलतालाई समेत अघि बढाइने बताइएको छ ।
विश्वविद्यलयका प्रोफेसर सरोज गिरीले ‘स्नातक तहमा सूचना प्रविधि’ र मधुसुदन सुवेदीले ‘खेलकुद व्यवस्थापन’का विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । रासस