मंगलवार, बैशाख ६ २०७९
बैशाख, ६ / सुर्खेत - कुल ५१९ जना विद्यार्थीहरुलाइ दिक्षित गर्दै मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह सम्पन्न भएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेलको अध्यक्षतामा दीक्षान्त समारोह समारोह सम्पन्न भएको हो ।
शिक्षामन्त्री पौडेलको अध्यक्षतामा भएको दिक्षान्त समारोहमा प्रमुख अतिथि सन् २०१४ को नोबेल शान्ति पुरस्कार विजेता भारतका कैलाश सत्यार्थी रहेका थिए।
समारोहमा विश्वविद्यालयबाट पहिलो विद्यावारिधी (PHD) उपाधि लिएका एक जनालाई पनि दीक्षित गरिएको छ।
दीक्षान्त समारोहमा स्नातकोत्तर तह उत्तीर्ण गरेका मानविकी र सामाजिक शास्त्र संकाय, व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकायका ३–३ जना गरि ९ जना विद्यार्थीलाई कुलपति पदक प्रदान गरिएको छ।
यस्तै, स्नातक तह विज्ञान तथा प्रविधि संकाय , मानविकी तथा सामाजिक शास्त्र संकाय, व्यवस्थापन संकाय, शिक्षा शास्त्र संकाय, र इञ्जिनियरिङ संकायमा स्नातक उत्तीर्ण ४–४ जना गरि २० जना विद्यार्थीलाई उपकुलपति पदक प्रदान गरिएको छ।
समारोहका अवसरमा व्यवस्थापन संकायमा स्नातकोत्तर तह उत्तीर्ण २ जना र स्नातक तह उत्तीर्ण ३ जनालाई सुर्खेत उद्योग वाणिज्य संघ स्वर्ण पदक प्रदान समेत गरिएको छ।
स्नातक तह अन्तर्गत मानविकी तथा समाजशास्त्र संकायका ४४, व्यवस्थापन संकायका ५३, शिक्षा शास्त्र संकायका १९, विज्ञान तथा प्रविधि संकायका १५, इञ्जिनियरिङ संकायका १४५ जना विद्यार्थीहरुलाई दिक्षित गरिएको छ।
स्नातकोत्तर अन्तर्गत मानविकी र समाजशास्त्र संकायका १०८, व्यवस्थापन संकायका ६८ र शिक्षा शास्त्र संकायका ६६ जना दीक्षित भएका छन्।
दिक्षान्त समारोहलाई सम्बोधन गर्दै शिक्षामन्त्री पौडेलले जिम्मेवार नागरिक उत्पादन गर्ने महत्वपूर्ण शैक्षिक थलोका रूपमा मध्यपश्चिम विश्वविद्यालयलाई व्यवस्थित गर्न आग्रह गरे।
उनले शिक्षा क्षेत्रमा सरकारको लक्ष्यसँगै अनिवार्य, निःशुल्क र गुणस्तरीय शिक्षा उपलब्ध गराउनुपर्ने संविधानको मर्मलाई पूरा गर्न मध्यपश्चिम विश्वविद्यालयले भूमिका खेल्ने अपेक्षा गरिएको उनले बताए।
त्यसैगरी समारोहलाई सम्बोधन गर्दै नोबेल पुरस्कार बिजेता सत्यार्थीले शिक्षा व्यक्तिगत स्वतन्त्रताको प्रमुख अंग भएको बताउदै शिक्षा आफूलाई आत्मनिर्भर मात्र नभई आफूलाई सुरक्षित बनाउने एक हतियार भएको उनले बताए। उनले समारोहमा दीक्षित विद्यार्थीहरूलाई सम्बोधन गर्दै आफूले प्राप्त गरेको शिक्षालाई समाजको जिम्मेवारीका रूपमा लिन आग्रह गरे।
सत्यार्थिले भने, ‘तपाईंको हातमा आज परेको प्रमाणपत्र डिग्रीका मात्र होइन, यसमा तपाईंको अभिभावकको परिश्रम र समाजको अपेक्षा मिसिएको छ। तपाईंको हातमा डिग्रीको प्रमाणपत्र मिल्नुको अर्को अर्थ समाजको लागि निभाउनुपर्ने जिम्मेवारी थपियो भन्ने बुझ्नुहोस्।’