शुक्रवार, पौष १३ २०८०
पुस, १३ गते , काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले यस वर्ष पनि ब्याचलर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्स (बी. टेक. इन एआई) को पढाइ नहुने भएको छ । विद्यार्थी सिट क्षमता ४८ भएको कोर्समा एक जना विद्यार्थी मात्र भर्ना हुन आएपछि उक्त कार्यक्रमको अध्यापन लगातार दाेस्राे वर्ष रोकिएको हो ।
विश्वविद्यालयले यस शैक्षिक कार्यक्रमको प्रवेश परीक्षा सम्बन्धी पहिलो पटक गत साउन ३२ गते सूचना प्रकाशित गरेको थियो । त्यस्तै असोज २६ गते दोस्रो सूचना निकाल्दै फारम भर्ने म्याद थप गरेको थियो । साथै मंसिर २४ गते पुन: प्रवेश परीक्षा सम्बन्धी सूचना निकाल्यो ।
तर एक जना विद्यार्थी कक्षा सञ्चालन नभए ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) पढ्ने सर्तमा भर्ना हुन आएका थिए तर कक्षा सञ्चालनका लागि आवश्यक पर्ने न्यूनतम विद्यार्थीहरू नआएपछी कार्यक्रम स्थगित गर्नुपरेको बताइएको छ।
याे शैक्षिक कार्यक्रमको पर्याप्त प्रचारप्रसारको अभाव, उच्च शिक्षामाथि विद्यार्थीको घट्दो आकर्षण, विश्वविद्यालयको कमजोरी आदिका कारण कोर्स अध्ययन गर्न विद्यार्थी नआएकाे विश्लेषण गरिएको छ।
विश्वविद्यालयका फ्याकल्टी अफ साइन्स एन्ड टेक्नोलोजीका सहायक डीन मनोज कुमार हलुवाईले विद्यार्थी नपाउनुमा कोर्सको प्रचार गर्न नसक्नु र यसबारे विद्यार्थीलाई बुझाउन नसक्नु कमजोरी भएको बताउँछन् । “कोर्स चलाउन गर्नुपर्ने कार्य डीन कार्यालयले गरिरहेको छ । कोर्स पढाउने आङ्गिक कलेजले पनि काम गरेकै हो । यद्यपि दुई वर्षसम्म पनि कोर्स चलाउन नसक्नुमा हाम्रो पनि केही कमिकमजोरी नै अवश्य छन्.” उनले भने, “तर पाठ्यक्रम र स्थानका कारण विद्यार्थी नपाएको भन्ने होइन । कोर्सबारे विद्यार्थी तथा अभिभावकलाई प्रष्ट पार्न नसक्दा हामीले विद्यार्थी नपाइरहेको भने हो ।”