बुधवार, बैशाख १२ २०८१
वैशाख ११ गते । कोहलपुर नगरपालिकाले आधारभूत तह कक्षा ८ को परीक्षा नतिजा प्रकाशनमा अनियमितता गर्ने शाखा अधिकृत र शिक्षकलाई कारबाही गर्ने निर्णय गरेको छ । पालिकाले नतिजा प्रकाशनका क्रममा अनियमितताको कोहलपुर नगरपालिका शिक्षा शाखा प्रमुख राम बहादुर हमाल, परीक्षा शाखा अधिकृत रविलाल मिजारसहितका कर्मचारीको नतिजा प्रकाशनमा मिलेमतो देखिएको भन्दै कारबाही गर्ने नगरपालिकाले निर्णय गरेको हो ।
गत सोमबार कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्य, उप–प्रमुख सङ्गीता सुवेदी, प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल सहितको उपस्थितिमा छानबिन तथा जाँचबुझ समितिको प्रतिवेदन सार्वजनिक गरिएको थियो ।
कोहलपुर नगरपालिकाले २०८० चैत २ देखि ९ गते सम्म सञ्चालन गरेको आधारभूत तह कक्षा ८ को परीक्षामा सामुदायिक र संस्थागत गरी ५२ वटा विद्यालयका २ हजार ८ सय ६४ विद्यार्थीले फारम भरेका थिए । चैत २३ गते प्रकाशित भएको नतिजामा १ हजार ७८ विद्यार्थी उत्तीर्ण भए । त्यसमा संस्थागत तर्फ ६९.८७ र सामुदायिक तर्फ १४.८० प्रतिशत उत्तीर्ण भए । तर नतिजा सार्वजनिक भएपछि परीक्षामा अनियमितता भएको भन्दै सार्वजनिक रूपमा विरोध भएको थियो ।
नतिजा प्रकाशनमा अनियमितताको आरोप लागेपछि कोहलपुर नगरपालिकाले चैत २५ गते कार्यपालिका सदस्य एवम् वडा नम्बर १२ अध्यक्ष वीरेन्द्र बहादुर शाहको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ एवम् छानबिन समिति गठन गरेको थियो । जसको सदस्यहरूमा नेपाल शिक्षक महासङ्घ कोहलपुरका प्रतिनिधि रामप्रसाद आचार्य, क्रिसा कोहलपुरका प्रतिनिधि बिएल भारती, ज्ञानज्योति मावि चप्परगौडीको प्रअ सुमित्रा न्यौपाने र सदस्य सचिवको रूपमा नगर प्रहरी प्रमुख वीर बहादुर थापा रहनुभएको थियो । उक्त समितिले १३ दिन लगाएर प्रतिवेदन तयार गरेर वैशाख ७ गते बुझाएको थियो ।
जाँचबुझ एवम् छानबिन समितिले दिएको तथ्यहरू, त्रुटिहरू र निष्कर्षका आधारमा दिएका रायहरूको आधारमा कोहलपुर नगरपालिकाको बोर्ड बैठकले अनियमिततामा संलग्न व्यक्तिहरूलाई कारबाही गर्ने निर्णय गरेको बताइएको छ।
सोमबार बोर्डले गरेको निर्णय नगर प्रमुख आचार्यले सार्वजनिक गर्नुभएको थियो । प्रतिवेदनका आधारमा शिक्षा शाखा प्रमुख हमाल, अधिकृत मिजार, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय सिमरी कोहलपुरकी शिक्षण सिकाई सहजकर्ता रोमिना खत्री, नगर शिक्षा प्राविधिक सहायक कर्मचारी बल बहादुर नेपाली, कार्यालय सहयोगी भरत थारुले आफ्नो पदीय जिम्मेवारी अनुसार काम नगरेको भन्दैं कारबाही गर्ने निर्णय गरिएको छ ।
यसैगरी कोहलपुर सिटी एकेडेमीका सञ्चालक प्रशान्त रिजाल, शिक्षक डम्बर बहादुर खत्री, पञ्चमुखी इङलिस मिडियम स्कुल कोहलपुरको शिक्षक आशा देवकोटा, रबिन बम, ब्राइट लाइट एकेडेमीका स्कुलका शिक्षक कुवेर ढकाल, वेष्टन इङलिस मिडियम सेकेन्डरी स्कुलका शिक्षक रमेश कुमार थारु, कोहलपुर सिटी एकेडेमीका शिक्षक उमेश केसी प्रचलित कानुन, शिक्षा ऐन र नियमावली विपरीत काम गरेको प्रतिवेदनमा उल्लेख छ ।
कोहलपुर सिटी एकेडेमीका सञ्चालक प्रशान्त रिजालको निर्देशन र नगरपालिकाको परीक्षा शाखा प्रमुखसँगको मिलेमतोमा नगर शिक्षा शाखाबाट आफ्नो विद्यालयका ४ जना विद्यार्थीको ६ थान उत्तरपुस्तिका लिएर सक्कल उत्तर पुस्तिका हटाई नक्कली उत्तर पुस्तिका तयार पारेको प्रतिवेदनमा उल्लेख छ । उक्त कार्यमा कोहलपुर सिटी एकेडेमीका आभास विक्रम क्षेत्री र सञ्चालक प्रशान्त रिजाल दोषी देखिएका छन् ।
शिक्षण सहजकर्ता रोमिना खत्री, बाल विकास शिक्षिका राधिका मल्ल, तारा चन्द, कोहलपुर सिटीको शिक्षक हिरा केसी पनि दोषी देखिएको भन्दैं नगर कार्यपालिकाको बैठकले छानबिन समितिको प्रतिवेदनमा दोषी देखिएका कानुनी रूपमा कारबाही गर्ने निर्णय गरेको छ ।

