शनिवार, माघ ५ २०८१
माघ, ५ गते/ सप्तरी । मधेश प्रदेश सरकारका गौरवका आयोजनाहरूमध्ये रहेको मधेश कृषि विश्वविद्यालय राजनीतिक किचलोलेका कारण लथालिङ्ग भएको छ।
सप्तरीको राजविराजमा स्थापना भएर अध्ययन अध्यापनको काम चलिरहेको विश्वविद्यालय राजनीतिक किचलोका कारण बीएसीएजीतर्फको ११० विद्यार्थी प्रवेश परीक्षा दिनबाटै वञ्चित भएका छन। किचलोका कारण अहिले बीएसीएजीतर्फको एक सय विद्यार्थीको पठनपाठन प्रभावित छ।
विश्वविद्यालयका उपकुलपतिदेखि कार्यालय सहायकसम्मले पछिल्लो ६ महिनादेखि तलब नपाउँदा समस्या छ । विश्वविद्यालयसँग बजेटै नभएको होइन । वर्तमान सरकारले बजेट कटौती गरेर १० लाख मात्रै छुट्याए पनि स्थापनाकालकै ३० करोडभन्दा बढी रकम छ । तर सिनेटले सिलिङ पास नगर्दा खर्च गर्न अनुमति छैन ।
मधेश प्रदेश सरकारले चार वर्षअघि राजविराजमा मधेश कृषि विश्वविद्यालय स्थापना गर्यो । स्थापना लगत्तै आफ्नै भवन नभए पनि भाडाको भवनमा प्रशासनिक र पठनपाठनको काम थालियो । राजविराज नगरपालिकाले वडा नम्बर १३ विषहरियामा विश्वविद्यालयका लागि उपलब्ध गराएको जग्गामा भवन निर्माण गर्न १ अर्ब २१ करोडमा टेन्डर भएर काम सुरू भयो । तर विश्वविद्यालय लथालिङ्गै छ । कारण हो त्यही भवनको शिलान्यास गर्ने दिन भएको झडप ।
सुरक्षाकर्मीको लाठीबाट विश्वविद्यालयका तत्कालीन सहउपकुलपति एवं शिक्षामन्त्री महेश यादवको टाउकोमा चोट लाग्यो भने अहिलेका मुख्यमन्त्री सतिशकुमार सिंह पनि घाइते हुनुभयो ।
जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत अध्यक्ष सीके राउतमध्ये कसले भवन शिलान्यास गर्ने विषय विवादित हुँदा २०८० माघ ८ गते जसपा अध्यक्ष यादव र तत्कालीन मुख्यमन्त्री सरोज यादवले सुरक्षाघेरामा शिलान्यास गर्नुभयो । सोही विवादमा जनमतले विश्वविद्यालयमा लगाएको ताला दुई सातापछि खुल्यो । यही घटनालाई कारण बनाएर जसपा नेतृत्वको मधेश सरकारबाट जनमत पार्टी बाहिरियो । तर जब जनमत मधेश सरकारको नेतृत्वमा पुग्यो अनि प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति विश्वविद्यालयमाथि गठन गरियो ।
उक्त समितिको प्रतिवेदन अझै सार्वजनिक हुन सकेको छैन । यही कारण विश्वविद्यालय सभाको बैठक भए पनि कुनै निर्णय हुन सकेको छैन । विश्वविद्यालय सभाले नै बजेट स्वीकृत हुने हुँदा उक्त काम रोकिँदा विश्वविद्यालय लथालिङ्ग छ ।
कृषि विश्वविद्यालय सभाको अध्यक्षमा सहउपकुलपति मधेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री र सदस्यसचिवमा विश्वविद्यालयका उपकुलपति हुने व्यवस्था छ ।