शनिवार, माघ १२ २०८१
माघ, १२ गते/काठमाडौ। नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले विश्वविद्यालयमा दलीय भागबन्डा कदापि मान्य नहुने बताएको छ। नेबिसंघ ले एक बिज्ञप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालय लगायतका अन्य विश्वविद्यालय अन्तर्गतका विभिन्न संकाय, विभाग, क्याम्पस लगायतका विभिन्न अन्य निकायमा दलीय भागबण्डा गरिएको भन्दै यो मान्य नहुने बताएको हो ।
त्रिभुवन विश्वविद्यालय लगायतका अन्य विश्वविद्यालय अन्तर्गतका विभिन्न संकाय, विभाग, क्याम्पस लगायतका विभिन्न अन्य निकायमा दलीय भागवण्डाको आधारमा डीन, निर्देशक, सह परीक्षा नियन्त्रक र क्याम्पस प्रमुखहरू नियुक्त भएको विषय प्रति नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिको गम्भीर ध्यानाकर्षण भएको बिज्ञप्तिमा उल्लेख छ।
नेपाल विद्यार्थी संघको निरन्तरको आन्दोलन र अभियानको जगमा योग्यता प्रणालीमा आधारित खुला प्रतिस्पर्धा मार्फत विश्वविद्यालयका पदाधिकारी नियुक्त गर्न विभिन्न कार्यविधि, मापदण्ड, नियमहरू तर्जुमा एवं संशोधन भएको तथ्यमा कुनै विवाद छैन तर उक्त कानूनको छिद्रहरूबाट आफ्नो दलीय स्वार्थ पुरा गर्ने परिपाटी अझै अन्त्य नभएको र विद्यावी आन्दोलनको मर्म र उपलब्धी विपरित रहेको हुँदा नेपाल विद्यार्थी संघ पुनः सशक्त निर्णायक आन्दोलनमा होमिनुपर्ने अवस्था सृजना भएको बिज्ञप्तिमा लेखिएको छ।
साथै नेबिसंघले भनेको छ, 'परिवर्तनको ऊर्जाले मात्रै विश्वविद्यालयहरू समयानुकूल परिस्कृत हुन सक्छन्, पुरातनवादी पुर्जाले होइन भन्ने तथ्य सरोकारवाला निकायहरूले हेक्का राख्न नसक्नु विडम्बना हो तसर्थ विश्वविद्यालय राजनैतिक र निहित स्वार्थको प्रयोगशाला बनाउनु खेदजनक छ।'
अतः प्रतिस्पर्धाको नाममा राज्यको ढुकुटी लुटाउँदै अस्वच्छ र अपारदर्शी विधि अवलम्बन गरी नियुक्त हुने, नियुक्त गर्ने र निम्न स्तरको स्वेच्छाचारी कार्यविधि निर्माण गर्नेहरूबाट कदापी विश्वविद्यालयहरूको गुणात्मक रूपान्तरण हुदैन। तसर्थ विश्वविद्यालयका सम्पूर्ण प्राध्यापक, शिक्षक, कर्मचारी र विद्यार्थीहरू एकजुट भएर प्रांतिक नेतृत्वको लागी पहल गर्न नेपाल विद्यार्थी संघ हार्दिक आह्वान समेत गर्दछ बिज्ञप्तिमा उल्लेख छ।
यस्तो छ बिज्ञप्ति
