बिहिवार, फाल्गुण १५ २०८१
१५;फागुन, काठमाडौं । शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले प्रधानमन्त्रीले भनेजस्तो छात्रवृत्तिको आवेदन नै नपरेको भन्ने नभएको स्पस्टिकरण दिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मेरिटको आधारमा नाम छनोट गरेर परराष्ट्र मन्त्रालय मार्फत पठाए पनि विद्यार्थीले अन्तिम सयममा अनलाइनबाट डकुमेन्ट नपठाएकाले सिट खाली भएको शिक्षा मन्त्रालयले प्रष्टीकरण दिएको छ ।
‘दुई सय विद्यार्थीको आवेदन परेको थियो । मेरिटको आधारमा नाम छनोट गरेर पठाएका थियौं । छनोटमा परेका विद्यार्थीलाई जानकारी पनि गराएको हो । तर उहाँहरूले चीनको नियम अनुसारको प्रक्रियामा सहभागी हुनु भएन’ शिक्षा मन्त्रालयको उच्च शिक्षा महाशाखाका उपसचिव सेमन्तराज कोइरालाले भने, ‘प्रधानमन्त्रीज्यूले भनेजस्तो आवेदन नै नपरेको भने होइन ।’
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार फेसबुकमा लेखेका थिए,– ‘शिक्षा मन्त्रालयबाट विभिन्न विषयको छात्रवृत्तिका लागि आवेदन खुलाइएकोमा आवश्यक संख्या नपुगेका कारण सिट खाली रहेको सूचना पाएको छु । खाली रहेका सिटमा छात्रवृत्तिका लागि छिटोभन्दा छिटो एक दुई दिनभित्रै आवेदन दिनुहोला ।’ प्रधानमन्त्री ओलीले उल्लेख गरेको यो विषय चीनको छात्रवृत्तिको हो ।
चीनले ७१ सिटमा छात्रवृत्ति दिएको थियो । गत पुसमा शिक्षा मन्त्रालयले आवेदन माग गरेको थियो ।
छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थी प्रक्रियामा सहभागी नहुँदा अन्डर ग्राजुएट एमबीबीएस १ जना, पोस्ट ग्राजुएट इन्जिनियरिङमा ७ जना, एग्रिकल्चरमा ३ जना, पीएचडी इन्जिनियरिङमा १ जना, भेटेरिनरीमा १ जना, आईटीमा ४ जना, मेडिकल साइन्समा २ जना र कन्जरभेसन १ जनाको खाली भएको हो ।
‘विद्यार्थीले के कारणले डकुमेन्ट पेस गरेनन् थाहा छैन । डकुमेन्ट पेस गर्न हामीले बारम्बार भनेका हौं तर, पेस नगर्दा समस्या आएको हो,’ कोइरालाले भने ।