आइतवार, बैशाख ७ २०८२
बैशाख, ७ गते/ काठमाडौ। अभिभावक संघ नेपाल, केन्द्रीय समितिले जारी शिक्षक आन्दोलनका कारण सामुदायिक विद्यालयका करिब ५५ लाख विद्यार्थीको पढ्न पाउने अधिकार हनन् भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ । शिक्षक आन्दोलनका कारण विद्यार्थीहरूको पढ्न पाउने अधिकार हनन भएको भन्दै अभिभावक महसंघका अध्यक्ष सुप्रभात भण्डारी, संघका अध्यक्ष केशव पुरी सहितको टोलीले आईतबार आयोगमा उक्त ध्यानाकर्षण पत्र बुझाएका हुन्।
ध्यानाकर्षण पत्रमा शिक्षाका सरोकारवालाहरुको समस्या राज्यले हल गर्नु जरुरी बताइएको छ । शिक्षकका जायज मागहरु तत्काल पुरा गर्नु पर्छ भन्ने कुरामा किन्तु परन्तु हुन सक्दैन।' शिक्षक खुसी भए मात्रै कक्षा कोठा रमाउने भन्दै शिक्षकलाई सम्मान गर्ने कुरामा राज्य नचुक्न पनि सचेत गराईएको छ । साथै विद्यार्थीको पढ्न पाउने नैसर्गिक अधिकारको सबै क्षेत्रबाट सम्मान गरिनु पर्ने पनि उक्त पत्रमा उल्लेख छ । साथै आसन्न कक्षा १२ को परीक्षा समेत प्रभावित हुन सक्ने तर्फ मानव अधिकार आयोगको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौं पत्रमा भनिएको छ। विद्यालयहरु सञ्चालन हुने, पठनपाठन हुन सक्ने र कक्षा १२ को परीक्षा शान्तिपूर्ण वातावरण मिलाउन जोडदार माग समेत गर्दछौं पत्रमा उल्लेख छ। शिक्षा ऐन जारी हुनु पर्ने सहित वृत्ति विकास र विभिन्न पेशागत मागहरु सहित नेपाल शिक्षक महासंघले चैत २० गते देखि काठमाडौं केन्द्रित सडक प्रर्दशन गर्दै आएको छ । चैत २५ गते बाट शैक्षिक हड्ताल घोषणा गरे पछि सामुदायिक विद्यालयहरुमा शैक्षिक गतिविधि ठप्प छ ।
पत्रमा भनिएको छ ‘शिक्षाका सरोकारवालाहरूको समस्या राज्यले हल गर्नु जरुरी छ, शिक्षकका जायज मागहरू तत्काल पुरा गर्नुपर्छ भन्ने कुरामा किन्तु परन्तु हुन सक्दैन , शिक्षक खुसी भए भने मात्रै कक्षा कोठा रमाउँछ तसर्थ शिक्षकलाई सम्मान गर्ने कुरामा राज्य चुक्न हुदैन साथसाथै विद्यार्थीहरूको पढ्न सिक्न पाउने नैसर्गिक अधिकारको सबै क्षेत्र बाट सम्मान गरिनुपर्छ भन्ने कुरामा हामी दृढ छौँ, यस्तै यावत् विषयका साथ आसन्न कक्षा १२ को परीक्षा समेत प्रभाव हुन सक्ने तर्फ मानव अधिकार आयोगको समेत हामी गम्भीर रूपमा ध्यानाकर्षण गराउन चाहन्छौ, विद्यार्थीहरूको पढ्न पाउने हक बाल अधिकारको रक्षा गर्दै तत्काल आम शिक्षकहरूका समस्याको हल गरेर सामुदायिक विद्यालयहरू सञ्चालनमा आउनसक्ने विद्यार्थीहरूका पठनपाठन हुनसक्ने १२ कक्षाको राष्ट्रिय परीक्षा हुने शान्तिपूर्ण वातावरण मिलाउन आम अभिभावक तथा विद्यार्थीहरूका तर्फबाट जोडदार माग समेत गर्दछौँ ।
