Oct 03 2026 | २०८३, आश्विन १७ गते

विद्यार्थी - शिक्षक नै यार्सा टिप्न गएपछि बन्द भए विद्यालय

विद्यार्थी - शिक्षक नै यार्सा टिप्न गएपछि बन्द भए विद्यालय

  • 556
    SHARES

  • विद्यार्थी - शिक्षक नै यार्सा टिप्न गएपछि बन्द भए विद्यालय

    काठमाडाैँ। हरेक वर्ष जेठ, असार डोल्पामा यार्सागुम्बा संकलन गर्ने सिजन हो। यो दुई महिनामा स्थानीयहरु बहुमुल्य जडिबुटी यार्सागुम्बाको खोजीका लागि उच्च हिमाली क्षेत्रमा रहेका पाटनहरुमा जाने गर्दछन्। बृद्ध, बालवालिका, सुत्केरी, गर्भवती सबैजसो घरमा ताल्चा मारेरै यार्सा टिप्न पाटन जाने गरेका छन्। डोल्पाको ठुलिभेरी नगरपालिका-७ स्थित आदर्श माध्यामिक विद्यालयका शिक्षक विद्यार्थी नै यार्सागुम्बा टिप्न गएपछि विद्यालय बन्द हुन थालेकाे छ। यार्सा संकलनको सिजन शुरु भएकाले पनि उनिहरु यतिबेला विद्यालय छोडेर पाटनतर्फ लागेका हुन्।

    ‘शिक्षकहरु सबै विद्यालयमै हुनुहुन्छ, विद्यार्थी भने कोही आउँदैनन्,’ आदर्श माविका प्रधानाध्यापक बालकृष्ण डाँगीले भने, ‘जेठ सुरु भएदेखि नै विद्यार्थीको उपस्थिति घट्न सुरु भइसकेको थियो, अहिले त उपस्थिति एकदमै न्युन छ। विद्यार्थी नै नआएपछि पठनपाठन पनि हुन सकेको छैन।’ उनका अनुसार अहिले विद्यालयमा प्रशासनिक काम मात्र भईरहेको छ।

    त्यसैगरी त्रिपुरासुन्दरी नगरपालिका १० लिकुमा रहेको जनप्रभा माविमा पनि पठनपाठन ठप्प छ। विद्यार्थी नै नआएपछि शिक्षकहरु विद्यार्थीलाई कुरेर दिन बिताईरहेका हुन्छन्। ‘७ सय भन्दा धेरै विद्यार्थी भएको हाम्रो विद्यालय प्रत्येक दिन खुलेकै छ तर विद्यार्थी भने आउँदैनन्,’ प्रधानाध्यापक तेजबहादुर गिरीले भने, ‘मुश्किलले ३०-३५ जना विद्यार्थी मात्र आईरहेका छन्, सरहरु विद्यार्थी कुरेर बस्नु भएको छ।’

    डोल्पामा १ सय १६ विद्यालय छन्। यार्सा सिजन शुरु भएपछि यसको प्रभाव यतिबेला डोल्पाका सबैजसो विद्यालयमा परेको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय डोल्पाले जनाएको छ। अधिकांश विद्यालय यार्सा सिजनका कारण विद्यार्थी नहुँदा बन्द भइसकेका छन्। अभिभावक नै घरमा ताल्चा मारेर पाटन जाने भएपछि स-साना बालबालिका पनि पढाइ छोडेर उनीहरुसँगै पाटन जाने गरेका हुन्। विद्यार्थी मात्रै नभई यहाँका स्थानीय शिक्षक समेत सिजनमा यार्सा टिप्न पाटनतर्फ लाग्ने गर्छन्। जसले गर्दा विद्यालय बन्द भइ पठनपाठन ठप्प हुने गरेको हो।

    ठुलिभेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिलप्रसाद रोकायका अनुसार नगरपालिकाले यसअघि नै विद्यालय बन्द नगर्ने निर्णय गरेको छ तर, विद्यार्थी नआउँदा पठनपाठन भने हुन सकेको छैन। ‘यार्सागुम्बा संकलन सिंगो परिवारको आम्दानी सँग जोडिएको छ। यहाँका कतिपय विद्यार्थीले यार्सा टिपेरै आफ्नो पढाइ खर्चको जोहो गरेका हुन्छन्,’ उनले भने, ‘यार्सा टिप्न पाटनतर्फ जानु विद्यार्थीका लागि रहर भन्दा पनि बाध्यता धेरै छ।’

    images
    शनिवार, जेठ ११ २०८२०७:३४:०२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार