मंगलवार, आषाढ ३१ २०८२
असार, ३१ गते/ महोत्तरी। जिल्लाको गौशाला नगरपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले सामूहिक राजीनामा दिएका छन् । दिवा खाजा, पाठ्यपुस्तक, नन सैलरी, नगर शिक्षक, नगर अनुदान, ससर्त पुँजीगत तथा शैक्षिक अनुदान शीर्षकको रकम निकासा नगरेको भन्दै राजीनामा दिएका हुन् ।
गौशाला नगरपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको असार ३१ मा बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ को अन्त्य सम्म पनि विभिन्न शीर्षकमा उपलब्ध गराउनु पर्ने रकम उपलब्ध नगराएको भन्दै राजीनामा दिएको जारी बिज्ञप्तिमा उल्लेख छ। उनिहरूले साउन १ गतेदेखि लागु हुनेगरी सामूहिक राजीनामा पत्र पेस गरेका हुन्।
“रकम निकासाका लागि पटक पटक तागेदा गर्दा समेत आलटाल गरेको अवस्थामा विद्यालयका गतिविधि सञ्चालन गर्न सक्ने अवस्था नभएको र यस अवस्थाबाट शैक्षिक गतिविधि समेत प्रभावित हुने अवस्था रहेकोले उक्त माथि उल्लेखित शीर्षक तथा विद्यालयमा नगरपालिकाबाट निकासा हुनु पर्ने रकम निकासा नभएकोले सामूहिक रूपमा तपसिलमा उल्लेखित यस गौशाला नगरपालिकाका सामुदायिक विद्यालयका प्र.अ.हरूबाट सामूहिक रूपमा मिति २०८२/०४/०१ देखि लागु हुने गरि राजीनामा दिने निर्णय सहित यो सामूहिक राजीनामा पत्र पेस गरेका छौ” पत्रमा उल्लेख छ ।
साथै प्रध्यानाध्यापकहरूले समस्या समाधानका लागि रोक्का गरिएका शीर्षकमा यथाशिघ्र निकाशाको माग समेत राख्नुभएको छ ।

