आइतवार, पौष १३ २०८२
१४, पुस/ महोत्तरी । अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले तीन दिन विद्यालय बन्दको घोष्णा गरेका छन्। निरन्तरको चिसो हावा, शीतलहर, बाक्लो कुहिरो र हुस्सुले जनजीवन प्रभावित हुन थालेपछि महोत्तरीका १५ वटै स्थानीय तहले विद्यालय बिदा दिने निर्णय गरेका हुन्।
स्थानीय तहले बर्खे बिदाबाट कटौती हुनेगरी हाललाई दुईदेखि तीन दिन बिदाको घोषणा गरेका जानकारी दिएको छ। स्थानीय तहले विज्ञप्ति जारी गर्दै विद्यालयमा अध्ययनरत बालबालिका अत्यधिक जाडोका कारण प्रभावित हुन थालेको जनाउँदै नगरभित्रका विद्यालयमा पठनपाठन बन्द गराएका छन्।
अत्यधिक जाडोका कारण बालबालिकामा रुघाखोकी, ज्वरो, दमलगायत समस्या देखिन थालेपछि अभिभावकको चासो र स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै निर्णय लिइएको स्थानीय तहको भनाइ छ।
तराई–मधेसमा विगत केही दिनदेखि शीतलहर र चिसो हावा चल्न थालेको छ। अत्यधिक जाडोका कारण बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।