Oct 02 2026 | २०८३, आश्विन १६ गते

विद्यार्थी राजनीति र विश्वविद्यालय सुधारबारे त्रिविका पुर्व स्ववियु सभापति ओझाको प्रधानमन्त्रीलाई खुला प्रश्न

विद्यार्थी राजनीति र विश्वविद्यालय सुधारबारे त्रिविका पुर्व स्ववियु सभापति ओझाको प्रधानमन्त्रीलाई खुला प्रश्न

  • 248
    SHARES

  • विद्यार्थी राजनीति र विश्वविद्यालय सुधारबारे त्रिविका पुर्व स्ववियु सभापति ओझाको प्रधानमन्त्रीलाई खुला प्रश्न

    काठमाडौँ । पूर्व स्ववियु सभापति श्यामराज ओझाले प्रधानमन्त्री बालेन्द्र शाहलाई खुला पत्र लेख्दै विद्यार्थी राजनीति, विश्वविद्यालय प्रशासन र सरकारी नीतिहरूप्रति गम्भीर प्रश्न उठाएका छन्। उनले विद्यार्थी संगठनलाई अपराधीकरण गर्ने प्रवृत्तिप्रति आपत्ति जनाउँदै विश्वविद्यालय सुधारका नाममा भइरहेको निर्णयहरूले विद्यार्थीको आवाज कमजोर बनाइरहेको आरोप लगाएका छन्।

    पत्रमा उनले त्रिभुवन विश्वविद्यालयको पुस्तकालय समय परिवर्तन, विद्यार्थी आन्दोलनबाट भएका सुधार, सेवा आयोग, परीक्षा प्रणाली, राजनीतिक हस्तक्षेप र विश्वविद्यालयको स्वायत्ततासम्बन्धी विषयहरू विस्तृत रूपमा उठाएका छन्। साथै उनले विद्यार्थी संगठनले गरेका विभिन्न शैक्षिक, सामाजिक तथा नीति सुधारसम्बन्धी आन्दोलनहरूलाई अपराधको रूपमा चित्रण गर्नु गलत भएको दाबी गरेका छन्।

    प्रधानमन्त्रीलाई खुला पत्र

    सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यू,

    आशा छ यो पत्र तपाईंसम्म पुग्नेछ, पढ्नुहुनेछ र मनन गर्नुहुनेछ। तपाईंले विद्यार्थी राजनीतिलाई अपराधीकरण गरेका कारण त्यसको नकारात्मक प्रभाव कसरी देखिन थाल्यो भन्ने एउटा उदाहरणबाट कुरा शुरु गर्न चाहन्छु। सरकारले कार्यालय समय ९–५ बजेसम्म राख्ने र शनिबार, आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपश्चात् त्यसको कार्यान्वयन गराउने भन्दै त्रि.वि. कार्यकारी परिषद्ले निर्णय गरेछ। सो निर्णयलाई आधार बनाउँदै गत साता त्रि.वि. केन्द्रीय पुस्तकालयले २४ घण्टा खुला राख्दै आएकोमा पुस्तकालय ९–५ मात्र खुला राख्ने सूचना निकालेछ।

    यो सरकारको निर्णयका कारण वा कार्यकारी परिषद्का कारण समयावधि घटाइएको जस्तो देखाइएता पनि सरासर विद्यार्थीहरूलाई वेवास्ता गर्न शुरु गरिएको थियो। विद्यार्थीको आवाज सरकारले त वेवास्ता गर्नुपर्छ भनिरहेको छ—“हामीले किन नगर्ने?” भन्ने मानसिकता हाबी भएको हो भन्ने मैले बुझेको छु।

    नत्र एकाएक २४ घण्टा पढिरहेका विद्यार्थीलाई लतार्दै ९–५ मा पुस्तकालयबाट निकाल्ने हिम्मत आउँदैनथ्यो। एक दिन ९–५ हुनेबित्तिकै विद्यार्थी–स्ववियु सहित फेरि आन्दोलन गरेपश्चात् पुनः २४ घण्टा नै सुरु भयो। यो उदाहरणले विद्यार्थीको आवाज आज पनि कति महत्वपूर्ण छ भन्ने देखाउँछ।

    म तपाईंलाई विद्यार्थी राजनीतिलाई दुरुत्साहन गर्नुको साटो सकारात्मक पद्धतिका लागि प्रोत्साहन गर्न अनुरोध गर्दछु। देशको प्रधानमन्त्री जस्तो पदमा आसिन व्यक्तिले एक–दुई डिरेल घटनाका आधारमा विद्यार्थी राजनीति प्रतिको धारणा बनाउनुहुने छैन भन्ने विश्वास छ।

    विद्यार्थी राजनीतिको इतिहास र उपलब्धिबारे मैले भनिरहनु पर्दैन, दुनियाँलाई थाहा छ। बीचका केही वर्ष बाटो बिराए तापनि अहिले विद्यार्थी संगठनहरू आफैंलाई सुधार्ने ठूलो कसरतमा छन्। उमेर हदबन्दी ३२ वर्ष, स्ववियुमा २८ वर्ष लागू गरिएको छ। १५ वर्ष चुनाव नभएर क्षयीकृत भएको स्ववियु तङ्ग्रिन थालेको तीन वर्ष भयो।

    स्ववियुका केही उदाहरणीय कामहरू पछि पस्किनेछु। तपाईंले पछिल्लो समय ने.वि.संघले Robowar, Idea Hackathon, Techfest, “मेरो शिक्षा मेरो प्रश्न” मार्फत छात्रवृत्ति दिलाउने काम र अनेरास्ववियुले बृहत् विद्यार्थी महोत्सव गरेको थाहा छ होला। यी कार्यहरू साँच्चिकै प्रशंसनीय थिए।

    विश्वविद्यालयहरू मेसिन तयार गर्न होइन मानिस तयार गर्न बनेका हुन्। मानिस विचारले बन्छ, विचारका लागि बहस हुनुपर्छ।

    राणा, पञ्च र राजाको हातबाट खोसेर जनताको हातमा शासन ल्याउन लडेका विद्यार्थी संगठनलाई आज खारेज गर्न खोज्नु अलोकतान्त्रिक मात्र होइन, असंवैधानिक र असम्भव पनि हो।

    विद्यार्थी संगठन सुध्रिनुको विकल्प छैन, तर केहीलाई मात्र हेरेर सबैलाई दोष दिनु उचित होइन।

    त्यसकारण केही घटनालाई आधार बनाएर नेपालमा अस्वभाविक विदेशी मोडेलका संगठन थोपर्ने प्रयास नगरियोस् भन्ने विश्वास गर्दछु।

    विश्वका धेरै देशमा विद्यार्थी संगठनहरू छन्—भारत, चीन, अमेरिका, बेलायत सबै ठाउँमा उनीहरूको भूमिका रहन्छ।

    आज नेपालमा विद्यार्थी राजनीति गर्नु नै अपराध हो जस्तो चित्रण गरिँदैछ, जुन दुखद छ।

    अब अन्त्यमा केही प्रश्नहरू:

    • के ११ दिन ११ रात आन्दोलन गरेर २४ घण्टा पुस्तकालय खुलाउनु अपराध थियो?

    • के शैक्षिक बहस र विमर्श गर्नु अपराध थियो?

    •सेवा आयोग सुधार, मेरिटोक्रेसीका लागि गरिएको आन्दोलन अपराध थियो?

    • परीक्षा क्यालेन्डर कार्यान्वयन गराउनु अपराध थियो?

    • विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप अन्त्य गर्न गरिएको पहल अपराध थियो?

    • मेरिटोक्रेसीका लागि गरिएको संघर्ष अपराध थियो?

    • ल्याब दुर्घटना बिमा लागू गराउनु अपराध थियो? विपद् बेला राहत वितरण गर्नु अपराध थियो?

    • विश्वविद्यालय सम्पत्ति संरक्षणका लागि लड्नु अपराध थियो?

    • राष्ट्रिय मुद्दामा आवाज उठाउनु अपराध थियो?

    अन्त्यमा, तपाईं आफैं पनि विद्यार्थी हुनुहुन्छ भन्ने स्मरण गराउँदै विद्यार्थीलाई अपराधी नदेख्न आग्रह गर्दछु। विश्वास छ, विश्वविद्यालय सुधारको पहिलो कर्तव्य तपाईंले पूरा गर्नुहुनेछ।

    धन्यवाद !

    श्यामराज ओझा

    पूर्व स्ववियु सभापति, त्रिभुवन विश्वविद्यालय

    images
    बिहिवार, बैशाख १० २०८३०९:१५:०५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार