शनिवार, बैशाख १२ २०८३
काठमाडौँ । विद्यार्थी राजनीति र नेतृत्वलाई अपराधीकरण गर्न खोजिएको भन्दै विद्यार्थी संगठनहरूले सरकारप्रति कडा आपत्ति जनाएका छन्। कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन र संयुक्त विद्यार्थी संगठनले ‘अपराधी भए कारागार लैजा, क्याम्पसभित्र नआईजा – Do Not Enter Nepal Police’ लेखिएको साङ्केतिक सन्देशमार्फत विरोध जनाएका हुन्।
उनीहरूले शैक्षिक संस्था प्राज्ञिक थलो भएको उल्लेख गर्दै क्याम्पसभित्र अपराध नभई अध्यापन, सिकाइ र वैचारिक बहस हुने बताएका छन्। विद्यार्थी संगठनहरूका अनुसार सरकार र प्रहरी प्रशासनको अनावश्यक हस्तक्षेप अस्वीकार्य छ र यसले शैक्षिक वातावरणमै असर पार्ने खतरा रहेको छ।
नेपालको संविधानले प्रत्याभूत गरेको संघ–संस्था खोल्ने स्वतन्त्रता अन्तर्गत विद्यार्थी संगठनहरूको अस्तित्व वैधानिक र लोकतान्त्रिक अभ्यासको आधार भएको उनीहरूको दाबी छ। एकल निर्णयका आधारमा विद्यार्थी संगठनमाथि नियन्त्रण गर्ने प्रयास स्वीकार्य नहुने उनीहरूले स्पष्ट पारेका छन्।
विद्यार्थी संगठनहरूले संस्थालाई मर्यादित र विद्यार्थीमैत्री बनाउन संवाद र सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन्। “नियन्त्रणले अविश्वास जन्माउँछ, सहकार्यले सुधार सुनिश्चित गर्छ,” उनीहरूको भनाइ छ। साथै, बन्ने कानुन विचार नियन्त्रणका लागि नभई विकृति नियन्त्रणका लागि हुनुपर्ने माग पनि उनीहरूले अघि सारेका छन्।
विद्यार्थी संगठनहरूले ‘खारेज होइन सुधार गरौं, अन्त्य होइन रूपान्तरण गरौं’ भन्ने सन्देशसहित सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।