Aug 13 2026 | २०८३, श्रावण २८ गते

विदेशी विश्वविद्यालयसम्बद्ध कलेज नियमन गर्न नयाँ नियमावली ल्याउने तयारीमा शिक्षा मन्त्रालय

विदेशी विश्वविद्यालयसम्बद्ध कलेज नियमन गर्न नयाँ नियमावली ल्याउने तयारीमा शिक्षा मन्त्रालय

  • 380
    SHARES

  • विदेशी विश्वविद्यालयसम्बद्ध कलेज नियमन गर्न नयाँ नियमावली ल्याउने तयारीमा शिक्षा मन्त्रालय

    काठमाडौं, १० जेठ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेज तथा क्याम्पसलाई व्यवस्थित र प्रभावकारी रूपमा नियमन गर्न नयाँ नियमावली ल्याउने तयारी भइरहेको बताएका छन्।

    आइतबार आयोजित एक कार्यक्रममा मन्त्री पोखरेलले विदेशी विश्वविद्यालयसम्बद्ध कलेजका सम्बन्धमा धेरै गुनासा आउने गरेको उल्लेख गर्दै ती संस्थालाई स्पष्ट मापदण्डभित्र ल्याउन नियमावलीको मस्यौदा तयार पारिएको जानकारी दिए।

    उनका अनुसार शिक्षा मन्त्रालयले उक्त नियमावलीको अन्तिम मस्यौदा तयार गरी अर्थ मन्त्रालय र कानुन मन्त्रालयमा राय तथा स्वीकृतिका लागि पठाइसकेको छ। सम्बन्धित मन्त्रालयबाट सुझाव प्राप्त भएपछि मन्त्रिपरिषद्मा पेस गरिने तयारी गरिएको उनले बताए।

    मन्त्री पोखरेलले विदेशी विश्वविद्यालयसम्बद्ध कलेजहरूलाई कुन आधारमा सम्बन्धन दिने वा नदिने, नियमनको ढाँचा कस्तो हुने तथा सञ्चालन मापदण्ड के हुने भन्ने विषय नियमावलीमार्फत स्पष्ट गरिने बताए। उनका अनुसार नेपाली विश्वविद्यालय र कलेजहरू नियमनको दायरामा रहे पनि विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेजहरू पर्याप्त रूपमा नियमन हुन सकेका छैनन्।

    उनले भने, “विदेशी विश्वविद्यालयसम्बद्ध कलेजका विषयमा धेरै गुनासा आउने गरेका छन्। यसलाई व्यवस्थित बनाउन सम्बन्धनका आधार, नियमन प्रणाली र सञ्चालन मापदण्ड स्पष्ट पार्ने गरी नियमावली तयार गरिएको छ।”

    मन्त्री पोखरेलका अनुसार हाल शिक्षा मन्त्रालयले एकैपटक तीन वटा महत्वपूर्ण नियमावली अघि बढाइरहेको छ। तीमध्ये शिक्षा नियमावली, शैक्षिक परामर्श (कन्सल्टेन्सी) संस्था नियमनसम्बन्धी नियमावली तथा विदेशी विश्वविद्यालयसम्बद्ध कलेज नियमनसम्बन्धी नियमावली रहेका छन्।

    शिक्षा ऐन तत्काल संसद्को चालु अधिवेशनमा ल्याउन नसकिएकाले वैकल्पिक रूपमा शिक्षा नियमावलीलाई अघि बढाइएको उनले जानकारी दिए। यसैबीच, विद्यालयमा शिक्षक दरबन्दी मिलान सम्बन्धी कार्य पनि अघि बढाइएको मन्त्री पोखरेलले बताएका छन्।

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार