Oct 02 2026 | २०८३, आश्विन १६ गते

धवलागिरि क्याम्पसमा पहिलो राष्ट्रिय सेमिनार, अनुसन्धान र नवप्रवर्तनमा जोड

धवलागिरि क्याम्पसमा पहिलो राष्ट्रिय सेमिनार, अनुसन्धान र नवप्रवर्तनमा जोड

  • 233
    SHARES

  • धवलागिरि क्याम्पसमा पहिलो राष्ट्रिय सेमिनार, अनुसन्धान र नवप्रवर्तनमा जोड

    बागलुङ, जेठ २२ — धवलागिरि बहुमुखी क्याम्पस, बागलुङमा इतिहासमै पहिलोपटक राष्ट्रिय सेमिनार आयोजना गरिएको छ। त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित क्याम्पसको आयोजनामा तथा विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा “The Role of Research and Innovation in Higher Educational Institutions” विषयक दुईदिने राष्ट्रिय सेमिनार बिहीबारदेखि सुरु भएको हो।

    उच्च शिक्षामा अनुसन्धान र नवप्रवर्तनको भूमिकाबारे केन्द्रित उक्त सेमिनारको उद्घाटन विश्वविद्यालय अनुदान आयोगका पूर्वअध्यक्ष प्रा. डा. भीमप्रसाद सुवेदीले गर्नुभएको थियो। जेठ २२ र २३ गते सञ्चालन हुने सेमिनारमा देशभरका विभिन्न विश्वविद्यालय तथा उच्च शिक्षण संस्थासँग आबद्ध करिब ५० जना अनुसन्धानकर्मी सहभागी भएका छन्।

    FB_IMG_1780640909825.jpg

    सेमिनारमा गुणस्तरीय अनुसन्धान र नवप्रवर्तन, पाठ्यक्रमको डिजिटल रूपान्तरण, उच्च शिक्षामा लैङ्गिक सहभागिता, समावेशीकरण र सामाजिक न्याय, बसाइँसराइ, विश्वव्यापीकरण, श्रम तथा विकास, जलवायु परिवर्तन, प्राकृतिक प्रकोप तथा दिगो विकास, संघीयता, सार्वजनिक प्रशासन र उत्तरदायित्व, नेतृत्व विकासलगायत ४५ विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ।

    उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रा. डा. सुवेदीले धवलागिरि क्याम्पसले पछिल्ला वर्षहरूमा भौतिक पूर्वाधार, अनुसन्धान तथा प्राज्ञिक गतिविधिमा उल्लेखनीय प्रगति गरेको बताउनुभयो। विश्वविद्यालयहरू अनुसन्धान र नवप्रवर्तनका केन्द्रका रूपमा विकसित हुनुपर्ने उल्लेख गर्दै उहाँले यस्ता कार्यक्रमले ज्ञान उत्पादन र प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याउने धारणा राख्नुभयो।

    उहाँले उच्च शिक्षाको पहुँच विस्तार भए पनि गुणस्तरीय प्रतिफल प्राप्त गर्न अझै चुनौती रहेको बताउँदै अनुसन्धानमा आधारित शिक्षण प्रणाली विकास गर्न आवश्यक रहेको औँल्याउनुभयो। राष्ट्रिय सेमिनारले विश्वविद्यालयहरूको अनुसन्धान क्षमता अभिवृद्धि गर्न र शैक्षिक गुणस्तर सुधारमा टेवा पुर्‍याउने विश्वास समेत व्यक्त गर्नुभयो।

    कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले विश्वविद्यालयहरूलाई ज्ञान, चेतना र राष्ट्र निर्माणका केन्द्रका रूपमा व्याख्या गर्दै यस्ता प्राज्ञिक सम्मेलनले समाजलाई सही दिशा प्रदान गर्ने बताउनुभयो।

    क्याम्पस व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष प्रा. डा. दिनबहादुर थापाले क्याम्पसमा अनुसन्धानमुखी वातावरण निर्माण गर्न तथा शैक्षिक गतिविधिलाई समाजसँग जोड्ने उद्देश्यले राष्ट्रिय सेमिनार आयोजना गरिएको जानकारी दिनुभयो।

    स्वागत मन्तव्य राख्दै क्याम्पस प्रमुख डा. सुदर्शन सिलवालले धवलागिरि क्याम्पसलाई अनुसन्धान र प्राज्ञिक गतिविधिको केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यका साथ पहिलोपटक राष्ट्रिय सेमिनार आयोजना गरिएको बताउनुभयो। उहाँले यसबाट क्याम्पसको शैक्षिक प्रतिष्ठा अभिवृद्धि हुनुका साथै अनुसन्धान संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

    सेमिनारमा विश्वविद्यालय अनुदान आयोगका पूर्वअध्यक्ष प्रा. डा. भीमप्रसाद सुवेदी, गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. इन्द्रप्रसाद तिवारी तथा त्रिभुवन विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसी मुख्य वक्ताका रूपमा सहभागी छन्। सेमिनारको संयोजन सहायक क्याम्पस प्रमुख डा. डिल्लीराज गौतमले गर्नुभएको छ।

    धवलागिरि क्याम्पसको इतिहासमै पहिलोपटक आयोजित राष्ट्रिय सेमिनारले अनुसन्धान, नवप्रवर्तन तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    images
    शुक्रवार, जेठ २२ २०८३०२:३८:०२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार