शुक्रवार, जेठ २२ २०८३
काठमाडौँ । सरकारले विभिन्न आठ विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि छनोट प्रक्रियालाई अगाडि बढाउँदै सर्ट लिस्ट (अल्पसूची) सार्वजनिक गरेको छ। "विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३" बमोजिम उपकुलपति पदका लागि प्राप्त दरखास्तमध्ये योग्य ठहरिएका उम्मेदवारहरूको मूल्याङ्कनपछि सिफारिस समितिले अल्पसूची तयार गरी सार्वजनिक गरेको हो।
सिफारिस समितिको २०८३ जेठ २२ गतेको निर्णयअनुसार त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा राजर्षि जनक विश्वविद्यालयका उपकुलपति पदका लागि सर्ट लिस्टमा परेका उम्मेदवारहरूको नामावली वर्णानुक्रमानुसार प्रकाशन गरिएको छ।
समितिले अल्पसूचीमा समावेश उम्मेदवारहरूको योग्यता, अनुभव तथा समग्र क्षमताबारे सरोकारवालाहरूबाट राय–सुझाव समेत माग गरेको छ। इच्छुक व्यक्ति तथा संस्थाले २०८३ जेठ २५ गतेभित्र उपलब्ध गराइएको गुगल लिङ्कमार्फत आफ्ना सुझाव तथा प्रतिक्रिया पठाउन सक्ने जनाइएको छ। उच्च शिक्षा क्षेत्रमा योग्य र सक्षम नेतृत्व चयन गर्ने उद्देश्यले यसपटक एकीकृत कार्यविधिअनुसार उपकुलपति छनोट प्रक्रिया सञ्चालन गरिएको हो। खुला प्रतिस्पर्धा, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकता दिँदै विश्वविद्यालय नेतृत्व चयनलाई थप व्यवस्थित बनाउन सरकारले यो प्रक्रिया अघि बढाएको जनाएको छ।
उच्च शिक्षाको नीति निर्माण, शैक्षिक गुणस्तर अभिवृद्धि तथा विश्वविद्यालयको संस्थागत सुधारमा उपकुलपतिको भूमिका महत्वपूर्ण हुने भएकाले छनोट प्रक्रिलाई चासोका साथ हेरिएको छ।

