Aug 13 2026 | २०८३, श्रावण २८ गते

'रास्वपाको झण्डा बोकेकालाई १ नम्बर थप्ने’ अभिव्यक्तिविरुद्ध स्ववियुको आपत्ति

'रास्वपाको झण्डा बोकेकालाई १ नम्बर थप्ने’ अभिव्यक्तिविरुद्ध स्ववियुको आपत्ति

  • 217
    SHARES

  • 'रास्वपाको झण्डा बोकेकालाई १ नम्बर थप्ने’ अभिव्यक्तिविरुद्ध स्ववियुको आपत्ति

    काठमाडौं, असार १ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कबिन्द्र बुर्लाकोटीको नियुक्तिसम्बन्धी अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    स्ववियुले आइतबार जारी गरेको विज्ञप्तिमा "रास्वपाको झण्डा बोकेको वा भोट मागेको व्यक्तिलाई नियुक्तिमा १ नम्बर थपिने" भन्ने अभिव्यक्तिले विश्वविद्यालयको स्वायत्तता, योग्यता प्रणाली (मेरिटोक्रेसी) र निष्पक्षताको मूल मर्ममाथि गम्भीर प्रहार गरेको उल्लेख गरेको छ।

    विज्ञप्तिमा विश्वविद्यालय कुनै पनि राजनीतिक दलको भर्ती केन्द्र नभई ज्ञान, अनुसन्धान र योग्यताका आधारमा सञ्चालन हुने प्राज्ञिक संस्था भएकाले यस्ता अभिव्यक्तिले शैक्षिक क्षेत्रको विश्वसनीयतामाथि प्रश्न उठाएको जनाइएको छ। स्ववियुले उक्त अभिव्यक्तिका कारण हाल त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिसहित विभिन्न पदाधिकारीहरूको नियुक्ति प्रक्रियामा सत्ताधारी दलको अनुचित हस्तक्षेप भइरहेको हो कि भन्ने आशंका उत्पन्न भएको जनाएको छ। विश्वविद्यालयका संरचनाहरूमा दलीय प्रभाव बढ्दै गएको संकेतले योग्य र सक्षम व्यक्तिहरूलाई निरुत्साहित गर्ने तथा संस्थाको गरिमामा आँच पुर्‍याउने स्ववियुको भनाइ छ।

    विज्ञप्तिमार्फत स्ववियुले विश्वविद्यालय तथा अन्य सार्वजनिक निकायहरूमा हुने नियुक्ति प्रक्रिया पूर्ण रूपमा पारदर्शी, निष्पक्ष र राजनीतिक हस्तक्षेपमुक्त हुनुपर्नेमा जोड दिएको छ। साथै, सम्बन्धित पक्षले उक्त अभिव्यक्तिको यथार्थ स्पष्ट पार्दै सार्वजनिक नियुक्तिलाई पूर्ण रूपमा योग्यतामा आधारित बनाउने प्रतिबद्धता व्यक्त गर्नुपर्ने माग पनि गरेको छ।

    स्ववियुले लोकतान्त्रिक मूल्य, संस्थागत स्वायत्तता र योग्यताको सम्मान कायम राख्न सबै सरोकारवाला पक्षको ध्यानाकर्षण गराउँदै सार्वजनिक संस्थाहरूलाई कुनै पनि प्रकारको दलीय प्रभावबाट मुक्त राख्न आग्रह गरेको छ।

    1781444219129.jpg

    images
    आइतवार, जेठ ३१ २०८३०७:४४:०८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार