मंगलवार, आषाढ १६ २०८३
काठमाडौँ, असार ३० – त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले क्याम्पसभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन दिएको निर्देशनप्रति स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का अध्यक्षहरूले गम्भीर आपत्ति जनाएका छन्।
अध्यक्षहरुले सोमबार विश्वविद्यालय उपकुलपतिलाई ध्यानाकर्षण बुझाउदै विश्वविद्यालयले गरेको पत्राचारलाई सरकारको हस्तक्षेपको संकेत भन्दै ‘सरकारको हस्तक्षेप स्वीकार्य छैन’ भनेका छन्। विश्वविद्यालयले जारी गरेको पत्राचारले विश्वविद्यालयको स्वायत्तता र प्राज्ञिक स्वतन्त्रतामाथि आघात पुर्याएको उल्लेख गर्दै विश्वविद्यालयलाई राजनीतिक दबाबबाट मुक्त राख्नुपर्ने उनिहरुको धारणा छ।
ध्यानाकर्षण पत्रमा विश्वविद्यालय ज्ञान, बहस र विचार–विमर्शको स्वतन्त्र थलो भएकाले सरकारले प्रत्यक्ष हस्तक्षेप गर्न नहुने उल्लेख गरिएको छ। विश्वविद्यालयका पदाधिकारीले सरकारलाई विश्वविद्यालयमा दलीय विद्यार्थी संगठनका कुनै आधिकारिक भौतिक संरचना नरहेको यथार्थ जानकारी दिन नसकेको आरोप पनि स्ववियु अध्यक्षहरूले लगाएका छन्।
स्ववियु अध्यक्षहरूले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने व्यवस्था अन्त्य हुनुपर्ने आफ्नो पुरानो माग दोहोर्याउँदै पछिल्लो पत्राचारलाई प्रधानमन्त्रीको प्रत्यक्ष नियन्त्रण र हस्तक्षेपको सन्देशका रूपमा व्याख्या गरेका छन्। साथै, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल (क्रान्तिकारी) लगायतका विद्यार्थी संगठनहरूको विश्वविद्यालयभित्र कुनै आधिकारिक भौतिक संरचना नरहेको दाबी गरेका छन्।
ध्यानाकर्षण पत्रमा सम्मानित सर्वोच्च अदालतबाट विश्वविद्यालय समन्वय समितिको निर्णय तथा स्ववियु सभापतिलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न जारी भएका अन्तरिम आदेशको समेत उल्लेख गर्दै ती आदेशको भावनाविपरीत नयाँ पत्राचार गरिएको आरोप लगाइएको छ। अदालतको आदेशको अवहेलना दण्डनीय हुने भन्दै विश्वविद्यालयका पदाधिकारी सरकारको प्रभावमा परेको आरोप पनि पत्रमा गरिएको छ।
स्ववियुले आफूहरू लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित विद्यार्थी प्रतिनिधि भएको उल्लेख गर्दै संविधान, कानुन र न्यायपालिकाप्रति पूर्ण सम्मान रहेको जनाएको छ। अदालतको आदेशविपरीत गरिएका निर्णय अन्ततः न्यायिक परीक्षणबाट बदर हुने विश्वास पनि व्यक्त गरेको छ।
साथै, त्रिभुवन विश्वविद्यालयका आङ्गिक, विभागीय तथा सम्बन्धन प्राप्त क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई संयमता, धैर्यता र जिम्मेवारीका साथ प्रस्तुत हुन आग्रह गर्दै न्यायालयबाट संविधान र विधिको शासनअनुकूल निर्णय आउनेमा विश्वास व्यक्त गरेको छ।
स्ववियु अध्यक्षहरूले आफूहरू लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित विद्यार्थी प्रतिनिधि भएको उल्लेख गर्दै संविधान, कानुन र न्यायपालिकाप्रति पूर्ण सम्मान रहेको जनाएका छन्। अदालतको आदेशविपरीत गरिएका निर्णय अन्ततः न्यायिक परीक्षणबाट बदर हुने विश्वास पनि व्यक्त गरेका छन्।
साथै, त्रिभुवन विश्वविद्यालयका आङ्गिक, विभागीय तथा सम्बन्धन प्राप्त क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई संयमता, धैर्यता र जिम्मेवारीका साथ प्रस्तुत हुन आग्रह गर्दै न्यायालयबाट संविधान र विधिको शासनअनुकूल निर्णय आउनेमा विश्वास व्यक्त गरेका छन्।