Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

  • 202
    SHARES

  • त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

    काठमाडौं, १७ असार — त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ शहरी योजनाविद् किशोर थापा नियुक्त हुनुभएको छ। प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपतिले थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त गर्नुभएको हो।

    यसैगरी, सेवा आयोगको सदस्यमा प्रा. डा. रेजिना मास्के नियुक्त हुनुभएको छ। विश्वविद्यालय स्रोतका अनुसार सेवा आयोगलाई प्रभावकारी, पारदर्शी तथा योग्य जनशक्तिमैत्री बनाउने उद्देश्यका साथ यी नियुक्तिहरू गरिएको हो।

    शिक्षा तथा खेलकुदमन्त्रीसमेत रहनुभएका सहकुलपतिको नेतृत्वमा गठित अध्यक्ष सिफारिस समितिले सेवा आयोग अध्यक्ष पदका लागि प्राप्त आवेदनहरूको अध्ययन, मूल्यांकन तथा अन्तर्वार्तापछि तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा थापालाई अध्यक्षमा नियुक्त बुझिएको छ।

    समितिले गत जेठ महिनामा अध्यक्ष पदका लागि योग्य तथा इच्छुक व्यक्तिहरूबाट आवेदन आह्वान गरेको थियो। प्राप्त आवेदनहरूको योग्यता, अनुभव, नेतृत्व क्षमता तथा कार्यसम्पादनको मूल्यांकनपछि योग्य उम्मेदवारहरूको नाम सिफारिस गरिएको विश्वविद्यालयले जनाएको छ।

    आर्किटेक्ट तथा शहरी योजनाविद्का रूपमा परिचित किशोर थापाले नेपाल सरकारको निजामती सेवामा चार दशकभन्दा बढी समय विभिन्न जिम्मेवारी सम्हाल्नुभएको छ। उहाँ शहरी विकास मन्त्रालय, शिक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा जल तथा ऊर्जा आयोग सचिवालयलगायतका निकायमा सचिवका रूपमा कार्यरत रहनुभएको थियो।

    थापाले राष्ट्रिय आवास योजना, राष्ट्रिय शहरी विकास रणनीति, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम नीति तथा नेपाल पर्यटन वर्ष २०११ जस्ता महत्वपूर्ण सरकारी नीति तथा कार्यक्रमको निर्माण र कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो। भूकम्पपछिको पुनर्निर्माण अभियानमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिका विज्ञ सदस्यका रूपमा समेत योगदान दिनुभएका उहाँ हाल नेपाल इन्स्टिच्युट अफ अर्बन एन्ड रिजनल स्टडिजमा शहरी योजना विज्ञ तथा काठमाडौं विश्वविद्यालयमा भिजिटिङ फ्याकल्टीका रूपमा आबद्ध हुनुहुन्छ।

    त्रिभुवन विश्वविद्यालयले सेवा आयोगको नेतृत्वमा अनुभवी व्यक्तित्वको नियुक्तिसँगै विश्वविद्यालयको कर्मचारी व्यवस्थापन, भर्ना प्रक्रिया तथा संस्थागत सुशासनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरेको छ।

    images
    बुधवार, आषाढ १७ २०८३०७:०७:०३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार