Oct 02 2026 | २०८३, आश्विन १६ गते

मध्यपश्चिम विश्वविद्यालयमा कानुनी शिक्षासम्बन्धी नीति संवाद सम्पन्न

मध्यपश्चिम विश्वविद्यालयमा कानुनी शिक्षासम्बन्धी नीति संवाद सम्पन्न

  • 253
    SHARES

  • मध्यपश्चिम विश्वविद्यालयमा कानुनी शिक्षासम्बन्धी नीति संवाद सम्पन्न

    सुर्खेत, साउन १४ — मध्यपश्चिम विश्वविद्यालय नीति प्रयोगशालाको आयोजनामा उच्च शिक्षामा कानुन शिक्षाको नीतिगत हस्तक्षेप तथा सुधारका अवसरहरू विषयक नीति संवाद कार्यक्रम वीरेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ।

    कार्यक्रमका प्रमुख वक्ता प्रा. डा. बिपिन अधिकारी ले नेपालको उच्च शिक्षामा कानुन शिक्षाको वर्तमान अवस्था, नीतिगत सुधारको आवश्यकता तथा सम्भावनाबारे आफ्नो धारणा राख्दै गुणस्तरीय कानुन शिक्षा, अनुसन्धानमा आधारित नीति निर्माण, शैक्षिक सुशासन तथा विश्वविद्यालय–राज्यबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो।

    उहाँले प्रमाणमा आधारित नीति निर्माण, सरोकारवालाबीच निरन्तर संवाद र प्रभावकारी कार्यान्वयनमार्फत उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न सकिने उल्लेख गर्दै कानुनी शिक्षालाई सार्वजनिक नीति, दर्शन, प्रविधि, अन्तर्राष्ट्रिय सम्बन्ध तथा अन्य शैक्षिक क्षेत्रसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

    संवादका क्रममा सहभागीहरूले सिकाइलाई समाजका वास्तविक समस्या तथा व्यावसायिक अभ्याससँग जोड्नुपर्ने सुझाव दिएका थिए। नीति प्रयोगशालाले आगामी दिनमा नीति संवाद, अनुसन्धान र ज्ञान आदानप्रदानलाई थप प्रवर्द्धन गर्दै उच्च शिक्षा सुधारका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

    रजिष्ट्रार सह–प्रा. डा. अर्जुनबहादुर अयडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक तथा नीति प्रयोगशालाका संयोजक डा. यदुप्रसाद ज्ञवालीले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा पूर्व उपकुलपति प्रा. डा. नारायणप्रसाद पौडेल, डीन सह–प्रा. डा. पूर्णमान श्रेष्ठ, प्रा. डा. चन्द्रप्रसाद रिजाल लगायतले पनि मन्तव्य राख्नुभएको थियो।

    कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी, कानुन व्यवसायी, उद्योगी, कानुनका विद्यार्थी तथा विभिन्न सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।

    images
    बिहिवार, श्रावण १४ २०८३०७:२४:५७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार