शुक्रवार, श्रावण १५ २०८३
काठमाडौं, साउन १५ — त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालयले स्नातकोत्तर तहको Master of Business Studies (MBS) कार्यक्रमअन्तर्गत आज सञ्चालन हुने MKT 511: Marketing Management विषयको परीक्षा ११ वटा परीक्षा केन्द्रमा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको छ।
डीनको कार्यालयले जारी गरेको अत्यन्त जरुरी सूचनाअनुसार विशेष परिस्थितिका कारण जनकपुर, सर्लाही, सिराहा, सप्तरी, रौतहट, बारा र वीरगञ्जस्थित ११ वटा परीक्षा केन्द्रमा मात्र परीक्षा स्थगित गरिएको हो। स्थगित गरिएको विषयको नयाँ परीक्षा तालिका यथाशीघ्र सार्वजनिक गरिने जनाइएको छ।
परीक्षा स्थगित भएका केन्द्रमा रामस्वरुप रामसागर बहुमुखी क्याम्पस (जनकपुर), सर्लाही क्याम्पस (मलंगवा), जनज्योति बहुमुखी क्याम्पस (लालबन्दी), सूर्यनारायण सत्यनारायण–मोरवैता यादव क्याम्पस (सिराहा), जे.एस. मुरारका बहुमुखी क्याम्पस (लाहान), श्री महेन्द्रविन्देश्वरी बहुमुखी क्याम्पस (राजविराज), नेशनल पिपुल कलेज (कञ्चनपुर–८, सप्तरी), जनज्योति बहुमुखी क्याम्पस (चन्द्रनिगाहपुर), गौरीशंकर यादव रौतहट क्याम्पस (गौर), सिमरा कलेज (बारा) र ठाकुरराम बहुमुखी क्याम्पस (वीरगञ्ज) रहेका छन्।
डीनको कार्यालयले सूचनामा उल्लेख गरिएका केन्द्रबाहेक देशभरका अन्य सबै परीक्षा केन्द्रमा भने परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार नै सञ्चालन हुने स्पष्ट गरेको छ। साथै, स्थगित भएका परीक्षा केन्द्रका विद्यार्थीलाई नयाँ परीक्षा तालिकासम्बन्धी सूचनाका लागि विश्वविद्यालयको आधिकारिक जानकारी नियमित रूपमा हेर्न आग्रह गरिएको छ।